
खोटाङ, असोज १८ गते । ठाउँ–ठाउँमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक फेरी अवरुद्ध भएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका छन् ।
इलाका प्रहरी कार्यालय हलेसीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । नगरपालिकाले निजी जेसिबी भाडामा लिएर धमाधम पहिरो पन्छाउने काम भइरहेको मेयर विमला राईले बताउनुभयो । नगरपालिकाले बडहरेतर्फबाट सडकको पहिरो पन्छाउदै अघि बढेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ ।
दशैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातीदेखि अलपत्र परेका छन् । खोटाङबाट तराई र वैकल्पिक सडकबाट काठमाडौंकालागि गएका सवारीसाधन पनि बाटैमा अलपत्र छन् । करिब ३ बजेसम्ममा पहिरो पन्छाइसकेर सडक सुचारु गराइने इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताउनुभयो ।
