
खोटाङ, असोज १८ । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा दसैँको अवसरमा वडा स्तरीय पुरुष भलिबलसँगै विभिन्न प्रतियोगिताहरु सञ्चालन हुँदैछ । असोज २० देखि २२ गतेसम्म सञ्चालन हुने दसैँ विशेष कार्यक्रममा चार प्रकारका खेलसँगै सामुहिक नृत्य प्रतियोगिता हुनेछ ।
रावा बेसी गाउँपालिका र कुभिण्डे वडा कार्यालयको आर्थिक सहयोगमा कुभिण्डे खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा असोज २० देखि २२ सम्म वडा स्तरीय भलिबल प्रतियोगिता हुनेछ । भलिबलसँगै असोज २० र २१ गते ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन हुनेछ । कार्यक्रमको अन्तिम दिन भलिबलको फाइनलसँगै छेलो हान्ने, पुरुष लङजम्प र सामुहिक नृत्य प्रतियोगिता हुने कुभिण्डेका वडाध्यक्ष गेहेन्द्र राईले बताउनुभयो ।
वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा एक जना खेलाडी वडा भन्दा बाहिरको पनि राख्न पाइने बताइएको छ । प्रथम हुने टिमले रु ७५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमश ४० हजार, २५ हजार र १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगदसहित मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस्तै, सामुहिक नृत्यतर्फ प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टिमलाई क्रमश १५ हजार, १० हजार, ५ हजार र २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ब्याडमिन्टन खेलमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमश १० हजार, ८ हजार, ५ हजार र ३ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै, छेलो र लङजम्प प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

