Thursday, March 5News That Matters

करबि ३२ घण्टापछि खुल्यो हलेसी–जयराम सडक

हलेसी–जयराम सडकको एक ठाउँको पहिरो, तस्विर : मेयर विमला राईको फेसबुकबाट ।

खोटाङ, असोज १९ । अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक करबि ३२ घण्टापछि खुलेको छ । ठाउँ–ठाउँमा खसेको पहिरो पन्छाएर करिब ३२ घण्टा पश्चात शनिबार आज बिहान ७ः३० बाट सडक पूर्णरुपमा सञ्चालनमा आएको हो ।

१७ गते राती परेको अविरल वर्षाका कारण सडकको ठाउँ–ठाउँमा पहिरो खसेको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँहरुमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । धेरै ठाउँमा ठुलो पहिरो खसेकाले सडक खुलाउन ढिला भएको हलेसी तुवाचुङ नगरपालिका मेयर मिवला राईले बताउनुभयो ।

नगरपालिकाले व्यवस्थापन गरेको २ वटा जेसिबि प्रयोग गरेर पहिरो पन्छाइएको हो । शुक्रबार बिहानबाटै सडकको पहिरो पन्छाउन सुरु गरिएको थियो । शुक्रबार साँझसम्म पनि पहिरो पन्छाउन नसकेपछि मेयर राई लगायतको टोली रातभर फिल्डमै रहेर शनिबार बिहान सडक खुलाइएको हो । बाहुनीडाँडाको कदुवामा खसेको २ वटा पहिरो रातभर लगाएर पन्छाइएको मेयर राईले बताउनुभयो । बिहान ५ बजे कदुवाको पहिरो पन्छाएर सकिएको हो । पुनः बोझे भन्ने ठाउँमा पहिरो खसेपछि सडक सुचारु हुन सकेको थिएन् । बोझेको पहिरो पन्छाएर बिहान ७ः३० बाट पूर्णरुपमा सडक सञ्चालनमा ल्याइएको मेयर विमला राईले बताउनुभयो ।

दसैँका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा बिहिबार रातीदेखि अलपत्र परेका थिए । खोटाङबाट तराई र वैकल्पिक सडकबाट काठमाडौंकालागि गएका सवारीसाधन एवं यात्रु पनि बाटैमा अलपत्र थिए । सडक सञ्चालनमा आएपछि करिब ३२ घण्टा थुनिएका यात्रु गन्तव्यतर्फ लागेका छन् ।

सडक अवरुद्ध भएर यात्रु अलपत्र पर्दा पनि सडक बिभागले पनि बेवास्ता गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले जेसिबि प्रयोग गरेर सडक सुचारु गरेको हो ।