खोटाङ, कात्तिक ९ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष ९ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ । वडाध्यक्ष अमेरिका बसेकाले सेवाग्राहीलाई समस्या भएको भन्दै सर्वपक्षीय राजनीतिक समितिले बुधबार वडामा ताला लगाएका थिए । अमेरिका पलायन भएका वडाध्यक्ष अर्जुन कुमार कट्वालको विषयमा गाउँपालिकाले कानुनी कारबाही प्रक्रिया सुरु गर्ने सहमति भएपछि शुक्रबार ताला खोलिएको हो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित मात्तिमका वडाध्यक्ष कट्वाल २०८० माघ १९ गते अमेरिका जानुभएको थियो । हालसम्म पनि नर्फिएपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले बुधबार वडा कार्यालयमा ताला लगाएको हो । जनताको सेवा गर्न निर्वाचित वडाध्यक्ष अमेरिकामा बसेर उल्टै जनतालाई दुःख दिएको भन्दै वडा कार्यालयमा ताला लगाइएको पूर्ववडाध्यक्ष भट्टराईको भनाइ छ ।
०८० माघ १७ गतेदेखि वडा कार्यालयमा अनुपस्थित वडाध्यक्ष कट्वाले राजिनामा दिएर आसन्न उपनिर्वाचन हुन बाटो खुलाउनु पर्ने सर्वपक्षीयले माग राख्दै वडा कार्यालयमा ताला लगाएका थिए । शुक्रबार गाउँपालिकामा भएको छलफलले वडाध्यक्ष कटवालको सम्बन्धमा आवश्यक कानूनी प्रकृया सुरु गर्न सम्बन्धित निकायलाई पहल गर्ने सहमति जुटेपछि ताला खोलिएको हो ।
वडााध्यक्ष अमेरिका पलायन भएपछि जेष्ठ वडा सदस्य भिम बहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो । कार्यपालिका बैठकले विभिन्न मितिमा तीन पटक सम्म निर्णय गरेर कार्यवाहक अध्यक्षको रुपमा खड्कालाई जिम्मेवारी दिएको भए पनि पछिल्लो पटक गत भदौ २३ गतेदेखि थप गरेको म्याद समेत असोज २२ गते सकिएको छ ।
वडाध्यक्ष कट्वालले दसैँसम्ममा आउने बताएपछि कार्यवाहक तोकेर वडाको काम सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ । दसैँ सकिदासम्म पनि नआएपछि अब कानुनी प्रक्रियामा जाने गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभएको छ ।
स्रोतका अनुसार वडाध्यक्ष कट्वाल अमेरिकामै बस्न पिआरको प्रक्रियामा रहेको बताईएको छ ।