खोटाङ, कात्तिक १४ । खोटाङको रावा बेसी गाउँपालिकामा आयोजित पालिका भित्रको वडा स्तरीय पुरुष भलिबलको उपाधि लामिडाँडाले जितेको छ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबार सम्पन्न फाइनल खेलमा डुम्रे धारापानी (बि) लाई पराजित गर्दै लामिडाँडाले उपाधि जितेको हो ।
उपाधिसँगै रावा बेसी गाउँपालिका–३ लामिडाँडाले एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रावा बेसी–४ डुम्रे धारापानी (बि) ले ७० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो डुम्रे धारापानी (ए) र चौथो खार्पा (ए) भएका छन् । तेस्रो र चौथो हुने टिमलाई ४० हजार र २० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङसँगै अन्य अतिथिहरुले पुरस्कारहरु प्रदान गरेका हुन् ।
रावा बेसी गाउँपालिकाको आर्थिक सहयोगमा खार्पा खेलकुद विकास समितिले आयोजना गरेको उक्त भलिबल प्रतियोगिताको उत्कष्ट खेलाडी लामिडाँडाका काशिराज माझी चुनिएका छन् । यस्तै, बेष्ट स्पाइकर लामिडाँडाकै नागिन माझी, बेष्ट ब्लकरमा लामिडाँडाकै सागर मगर, बेष्ट लिब्रो डुम्रे धारापानी (बि)का रोशन मगर, बेष्ट सेटर डुम्रे धारापानी (बि) का लबिन मगर र अनुशासितमा रचन गुरुङ चुनिएका छन् । उनीहरु सबैलाई नगद १/१ हजारसँगै प्रमाणपत्र प्रदान गरिएको खार्पा खेलकुद विकास समितिका अध्यक्ष इन्द्र बहादुर राईले बताएका छन् ।
रावा बेसी गाउँपालिकाको आर्थिक लगानीमा हरेक वर्ष वडा स्तरीय भलिबल प्रतियोगिताहरु सञ्चालनहुँदै आएको छ ।
यस्तै, भलिबलसँगै आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता उपाधि भरत राई र पञ्चकुमारको टिमले जितेको छ । प्रतियोगिताको दोस्रो यादब धमला र विकास गुरुङको टिम र रोचक राई र विसाल राईको टिम तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश १० हजार, ७ हजार र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै, खार्पा वडा भित्रका वासिन्दाले मात्र भाग लिन पाउने गरी आयोजना गरिएको सामुहिक नृत्यको विजेता रुभुङ रबिना राईको टिम भएका छन् । नृत्यमा दोस्रो बालकुमारी मगरको टिम, तेस्रो सोनिया गदाइलीको टिम र चौथो सुमना नेपालीको भएका छन् । उनिहरुलाई क्रमश नगद ६ हजार, ४ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र प्रदान गरिएको खार्पा खेलकुद विकास समितिका अध्यक्ष राईले बताए ।
सोही कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीकोसमेत भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । आइतबार सुरु भएको यस प्रतियोगिताको उद्घाटन खेलमा रावा बेसी गाउँपालिका भित्रका निर्वाचित जनप्रतिनिधिको टिम र कर्मचारीको टिमले प्रतिस्पर्धाका गरेका थिए । जसमा जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई हराएर खसी पुरस्कार पाएको आयोजकले जनाएको छ ।