खोटाङ, मङ्सिर १ । गैरजिम्मेवार बनेको भन्दै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले प्रधानाध्यापकलाई कारबाही गरेको छ । घरमै बसेर विद्यालय लागिरहेको छ भन्दै गाउँपालिकालाई ढाट्ने प्रधानाध्यापकलाई गाउँपालिकाले कारबाही गर्दै प्रधानाध्यापकको जिम्मेवारीबाट हटाएको हो ।
विद्यालय निरीक्षक रणशेर तामाङ अनुगमन गर्न विद्यालय पुग्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित सहकला आधारभूत विद्यालय बन्द रहेको थियो । तर, प्रधानाध्यापक रिता राउतले फोनमा विद्यालय लागिरहेको भन्दै निरीक्षकलाई ढाटेपछि गाउँपालिकाले पदबाट हटाएको जनाएको छ ।
तिहार र छट बिदा पश्चात कात्तिक २६ गतेबाट विद्यालय सञ्चालन हुनु पर्ने थियो । तर कात्तिक २७ गते गाउँपालिकाका विद्यालय निरीक्षक तामाङ विद्यालय अनुगमनमा पुग्दा सहकला आवि बन्द रहेको भेटिएको थियो । दिउँसो करिब २ बजे विद्यालयमा पुग्दा विद्यालय बन्द रहेको भेटिएको निरीक्षक तामाङको भनाइ छ । त्यसपछि विद्यालयकै प्रांगणबाट प्रधानाध्यापक राउतलाई कल गर्दा विद्यालय लागिरहेको आफु पनि विद्यालयमै रहेको भन्दै राउतले ढाटेको तामाङले बताउनुभयो ।
विद्यालयका एक जना शिक्षक खेमराज कँडेल भने विद्यालयको प्रांगणमा बसिरहेका थिए । विद्यालयको चाबी लिएर प्रधानाध्यापक राउत र कार्यालय सहयोगि गंगा श्रेष्ठ नआएपछि विद्यालय बन्द रहेको शिक्षक कँडेलको भनाइ थियो । निरीक्षक तामाङलाई प्रधनाध्यापक राउतले उल्टै ढाँटेपछि वरिपरिका अभिभावक बोलाएर विद्यालयको अवस्थाको प्रतिवेदन गाउँपालिकामा बुझाएको उहाँको भनाइ छ । “अनुगमनमा पुग्दा विद्यालय पुरै बन्द रहेको भेटियो, अनि प्रधानाध्यापकलाई कल गरेको थिएँ । उहाँले विद्यालय लागिरहेको आफु पनि विद्यालयमै पढाइरहेको भन्नुभयो । तर म स्वयं विद्यालयमा छु, विद्यालय पुरै बन्द छ ।” निरीक्षक तामाङले भन्न्ुभयो, “त्यसपछि पालिका प्रमुखको सल्लाह अनुसार अभिभावक भेला गरेर विद्यालयको अवस्थाको प्रतिवेदन बनाएर पालिकामा ल्याएको हुँ ।”
प्रतिवेदनका आधारमा कात्तिक ३० गते बसेको गाउँ कार्यापालिकाको बैठकले राउतलाई प्रधानाध्यापक पदबाट हटाएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । राहत कोटामा कार्यरत राउतलाई प्रधानाध्यापकबाट हटाएर स्थायी शिक्षक खेमराज कँडेललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको पालिका अध्यक्ष राईको भनाइ छ । प्रधानाध्यापक गैरजिम्मेवार बनेकाले पदबाट हटाइएको उहाँले बताउनुभयो । पालिकाले सोधेको स्पष्टिकरणमा पनि चित्तबुझ्दो जवाफ नआएपछि प्रधानाध्यापकबाट हटाएको पालिका अध्यक्ष राईको भनाइ छ ।
कक्षा पाँचसम्म पठनपाठन हुने बतासेस्थित सहकला आविमा अहिले विद्यार्थी संख्या कम भएपछि कक्षा ३ सम्म मात्र पठनपाठन भइरहेको छ । विद्यालयमा हाल रिता राउत, खेमराज कँडेल र कार्यालय सहयोगि गंगा श्रेष्ठ कार्यरत छन् । बालविकास सहयोगिको पद भने हाल रिक्त रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कारबाहीमा पर्नुभएकी शिक्षक राउतले आफ्नो कमजोरी भएको स्विकार गर्नुभएको छ ।