खोटाङ, मङ्सिर ६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटबल प्रतियोगितामा १७ टिम सहभागि हुने भएका छन् । लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा सहभागि हुन १७ टिमले नाम दर्ता गरेको बताइएको छ ।
“मेरो गोल लैङ्गिक हिंसा विरूद्धको बोल” भन्ने नारासहित नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि १ लाख बढी रहेको छ । जिल्लामा आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि हालसम्मकै सर्वाधिक हो । खोटाङसँगै ओखलढुंगा र भोजपुरका टिमहरुले नाम दर्ता गराएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । खेल तालिका शुक्रबार भोलि सार्वजनिक हुनेछ । प्रतियोगिता मङ्सिर ८ गते शनिबारबाट हलेसीस्थित बसाहथान खेलमैदानमा सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको लागि मन्त्री राई शुक्रबारनै हलेसी आइपुग्ने सचिवालयले जनाएको छ ।
मङ्सिर ८ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख १० हजार १११ रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टिमले ५५ हजार ५५५ रूपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलिस्ट २ टिमलाई नगद २२ हजार २२२ सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । यस्तै, विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले महिला फुटबलसँगै महिला जनप्रतिनिधिको म्युजिकल चियर प्रतियोगिता पनि आयोजना गरेको मेयर राईले बताउनुभयो ।