Tuesday, December 3News That Matters

मंगलटारको सुविधा सम्पन्न वडा कार्यालय भवन उद्घाटन


खोटाङ, मङ्सिर ७ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । वडा कार्यालयको सुविधा सम्पन्न आरसिसि भवन शुक्रबार कोशी प्रदेशका भौतिक भूर्वाधार एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उद्घाटन गर्नुभएको हो ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा विनियोजन गरेको ८७ लाख बजेटबार मंगलटार वडा कार्यालयको भवन निर्माण भएको उपमेयर रमेश कुमार राउतले बताउनुभयो । सुविधा सम्पन्न आरसिसि दुई तले भवन निर्माण भएसँगैै वडा कार्यालय सञ्चालनमा सहज हुने वडाका जनप्रतिनिधिहरुले बताएका छन् । मन्त्री राई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, उपमेयर राउत, मंगलटारका वडाध्यक्ष गन राई लगायत अन्य वडाका वडाध्यक्ष, नेता एवं स्थानीयहरुको उपस्थितिमा शुक्रबार भवनको उद्घाटन गरिएको हो ।

यस अघि मंगलटार गाउँ विकास समितिको पुरानो भवन मर्मत गरेर वडा कार्यालय सञ्चालन भइरहेको उपमेयर राउतले बताउनुभयो । नगरपालिकामा मंगलटारसँगै वडा नम्बर १ बाहुनीडाँडा, २ डिकुवा, ३ च्यास्मिटार, ७ महादेवस्थान र १० अर्खौले वडा कार्यालयको आरसिसि भवन निर्माण सम्पन्न भइसकेको छ । वडा नम्बर ४ बडहरेको वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ११ राजापानीको भवन निर्माणको काम पनि सुरु भइसकेको उपमेयर राउतले बताउनुभयो ।