खोटाङ, पुस १० । खोटाङमा सञ्चालित फेमिली केयर अस्पतालको १३ औँ साधरण सभा सम्पन्न भएको छ । बुधबार दिक्तेलस्थित रुपाकोट होटलमा अस्पतालको १३ औँ साधरण सभा गरिएको हो ।
२०६८ सालमा काठमाडौंमा खोलिएको फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टर प्रा.लि अर्थात फेमिली केयर अस्पताल २०७६ सालमा दिक्तेलमा स्थानान्तरण गरिएको हो । २०७६ सालदेखि हालसम्म जिल्लाका नागरिकलाई अस्पतालले स्वास्थ्य सेवा दिदै आएको छ । हाल अस्पतालमा २ जना एमबिबिएस डक्टरसहित २१ जना कर्मचारी रहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष जेपी राईले बताउनुभयो । दैनिक १५ देखि २० जना बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । हालसम्म अस्पतालमा ५६ जना सेयर सदस्यको ५ करोड ४० लाख बढी सेयर पुँजी रहेको अध्यक्ष राईले बताउनुभयो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईको प्रमुख आतिथ्यतामा १३ औँ साधरण सभा गरिएको हो । प्रमुख राईसँगै बाम्राङका वडाध्यक्ष महेन्द्र राई, उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्य लगायतले अस्पतालले सेवा थप व्यवस्थित बनाउन शुभकामना दिनुभएको छ ।
साधरण सभामा वर्ष उत्कष्ट कर्मचारीकोरुपमा सि.अहेव चक्र बहादु राईलाई सम्मानपत्रले सम्मान गरिएको छ । अस्पताललाई निःशूल्क जग्गा दान गर्ने चन्द्र बहादुर केसी र सिता केसीलाई पनि सम्मान गरिएको छ । यस्तै, तीन जना स्वयंसेवक निर्मला घिमिरे आचार्य, मञ्जु पाण्डे आचार्य र सृजना घिमिरे आचार्यलाई पनि सम्मान गरिएको छ ।
हाल अस्पतालमा एमडिजिपी डाक्टरको अभाव रहेको र तत्काल व्यवस्थापन गर्न समिति लागिरहेको सञ्चालक समितिका अध्यक्ष जेपी राईले बताउनुभयो । केही समय भित्रमा अस्पतालको सेवा थपेर दिक्तेलमा डेन्टल सञ्चालन गर्ने उहाँको भनाइ छ । नेपाल सरकारबाट ५० शैयाको स्वीकृति पाएको फेमिली केयर अस्पतालमा मेडिकल कलेज स्थापनाको लक्ष्य राखिएको अध्यक्ष राईको भनाइ छ ।
फेमिली केयर अस्पतालमा पुस १२ गते शुक्रबारबाट तीन दिने निःशूल्क आँखा शिविरसमेत सञ्चालन हुँदैछ ।