
खोटाङ, माघ ९ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नागरिकले ५ लाख सम्मको कर्जा विनाब्याज पाउने भएका छन् । उद्यमी बन्न चाहाने नागरिकले ५ लाखसम्मको कर्जा विनाब्याज पाउने भएका हुन् ।
कृषि, पशुपालन, होमस्टे सञ्चालन लगायतका लघु उद्यम गर्न चाहाने नागरिकका लागि नगरपालिकाले विनाब्याज ५ लाखसम्म ऋण दिने व्यवस्था मिलाएको हो । जसका लागि नगरपालिकाले बुधबार प्रभु बैंकसँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा प्रभु बैंकले मुल्याङ्कन गरेर उद्यमी बन्न चाहाने नागरिकलाई ऋण दिने छ । नागरिकले पाएको उक्त ऋणको बैंकको औसत आधार दरमा २ प्रतिशत प्रिमियम थप गरेर नगरपालिकाले ब्याज तिर्ने गरी सम्झौता भएको हो ।
उद्यमी बन्न चाहाने नागरिकलाई ब्याज अनुदान प्रदान गर्न लागिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभएको छ । कृषि, पशुपालन लगायतका लघु उद्यमबाट नागरिकलाई रोजगार प्रदानसँगै उद्यमहरुको प्रवद्र्धनका लागि ब्याज अनुदान कार्यक्रम ल्याइएको मेयर राईको भनाइ छ । उद्यम गर्न चाहाने नागरिकलाई पैसाको अभाव नहोस् भनेर नगरपालिकाले ब्याज तिर्ने गरी ऋणको लागि बैंकसँग सम्झौता गरिएको मेयर राईले बताउनुभयो । ५ लाख सम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिर्ने मेयर राईको भनाइ छ ।
विनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडामा निवेदन दिनु पर्ने छ । वडा वडामा आएको निवेदनहरुलाई समेटेर नगरपालिकाले बैंकलाई सिफारिस गर्ने छ । नगरपालिकाले गरेको सिफारिस अनुसार निवेदकको धितो अनुसार मुल्याङ्कन गरेर बैंकले ऋण प्रदान गर्ने प्रभु बैंक हलेसी शाखाका सम्वन्ध अधिकृत तीर्थराज बिष्टले बताउनुभयो ।
कर्जा लगेका ब्यक्तिहरुले लघु उद्यममा लगानी गरेको छ, छैन् भनेर हरेक तीन महिनामा बैंक र नगरपालिकाको टोलीले अनुगमन गर्ने छ । यदि बैंकबाट ऋण लगेर उद्यममा लगानी नगरेमा नगरपालिकाले प्रदान गरेको ब्याज अनुदान कटौती हुने बताइएको छ ।