Tuesday, March 18News That Matters

खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत, ६ महिनाको गर्भ

खोटाङ, पुस २० । खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छिन् । जिल्लाको केपिलासगढी गाउँपालिकाकी एक मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भएको खुलेको छ ।

करिब ६ वर्ष अघि मानसिक सन्तुलन गुमाएर उपचाररत महिलालाई गाउँकै ३९ वर्षका पुरुषले बलात्कार गरेको खुलेको हो । बलात्कृत भएको ६ महिनापछि मात्र थाहा भएको छ । महिला गर्भवती रहेको थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएका छन् । परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार ३९ वर्षका एक कुमार राईले मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेका हुन् ।

हाल उक्त महिलाको ललितपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको सल्लाहमा अस्पताल नजिकै रहेको प्रहरी कार्यालयबाट परिवारले जाहेरी दिएका छन् । उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय खोटाङमा पुस १८ गते दर्ता भएको सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुयभयो ।

जाहेरी दर्ता पश्चात प्रहरी टोली घटना भएको स्थल पुगेर मुचुल्का तयार गरेर फर्किएको छ । पीडकलाई पक्राउ गर्नका लागि आइतबार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइने प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

गत असारमा एक कुमार राईले घरमा एक्लै भएको मौका छोपेर मानसिक सन्तुलन गुमेकी महिलालाई बलात्कार गरेका हुन् । पीडक राई हाल बेलायतमा रहेको बताइएको छ । बेलायतबाट बेलाबेला पीडित महिलाको आमालाई कलसमेत पीडक एक कुमारले गर्ने गरेका थिए । पीडित महिला गर्भवती रहेको थाहा भएपछि परिवारलाई पीडक राईले पैसाको प्रलोभनसमेत देखाएको बुझीएको छ । हाल पीडक एक कुमार बेलायतमै रहेको बताइएको छ ।