राजकुमार सरगम (भट्टराई)
खोटाङ, साउन ८ । एक वर्षमा खोटाङको खोटेहाङ गाउँपालिकामा कर्मचारी तथा पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविध तथा विविध कार्यक्रममा २ करोड ४२ लाख ९३ हजार खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा खोटेहाङ गाउँपालिकाले उक्त खर्च गरेको हो ।
एक आर्थिक वर्षमा गाउँपालिकाको कर्मचारी पदाधिकारी बैठक तथा अन्य भत्तामा १ करोड १२ लाख ९८ हजार खर्च भएको महालेखाको प्रतिवेदनले जनाएको छ । यस्तै, अनुगमन तथा मुल्यांकन र भ्रमण खर्चमा ३४ लाख ४३ हजार, इन्धन पदाधिकारी र कार्यालय प्रयोजनमा १७ लाख ३८ हजार, विविध खर्चमा ४७ लाख ६२ हजार, विविध कार्यक्रम खर्चमा २० लाख ५१ हजार र कर्मचारी प्रोत्साहन र फिल्ड भत्तामा १० लाख १ हजार खर्च भएको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
खाना खाजा खर्च
महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन अनुसार खाना र खाजामा मात्र १९ लाख बढी खर्च भएको छ । खोटेहाङ गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा खाना र खाजामा मात्र १९ लाख ६३ हजार ५ सय खर्च गरेको देखिएको प्रतिवेदनमा भनिएको छ ।
कर्मचारी प्रोत्साहन भत्ता
खोटेहाङ गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा १३ लाख ९४ हजार ५० रुपैयाँ कर्मचारी प्रोत्साह तथा पुरस्कार भत्ता खर्च लेखेको छ । पालिकाले खोटेहाङ गाउँपालिकाको कार्यसम्पादन आधारित प्रोत्साहन भत्ता कार्यविधि पारित गरेको भएपनि कर्मचारीको कार्यसम्पादन मापन गर्ने सूचक, अतिरित्त कार्य गर्ने क्षेत्र तथा कार्यप्रकृति र समय निर्धारण नगरेको र कार्यालयमा ई हाजिरीसमेत नभएकोले प्रोत्साहन भत्ता खर्च लेख्ने कार्य मितव्ययी नदेखिएको प्रतिवेदनमा भनिएको छ ।
मृत्यु भएका ब्यक्तिको खातमा सामाजिक सुरक्षा भत्ता
खोटेहाङ गाउँपालिकाको विभिन्न वडाका १५ जना मृत्यु भइसकेको ब्यक्तिको खातमा सामाजिक सुरक्षा भत्ता निकासा भएको पाइएको छ । मृत्यु भइसकेको ब्यक्तिको खातमा निकासा भएको २ लाख १८ हजार ४१७ रुपैयाँ असुल गरेर संघिय संचितकोषमा दाखिला गर्न महालेखाले भनेको छ । जसमा वडा नम्बर १ को १ जना, वडा नम्बर २ को २ जना, वडा नम्बर ६ को २ जना, वडा नम्बर ७ को ३ जना, वडा नम्बर ८ को ५ जना, वडा नम्बर ९ को २ जना गरी जम्मा १५ जनाको खातामा उक्त रकम गएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
नियम विपरीत सोझै खरिद
सार्वजनिक खरिद निमावलीमा १० लाखसम्मको खरिद कार्य सोझै गर्न सकिने तर १० लाख भन्दा माथि २० लाखसम्म सिलबन्दी दरभाउपत्रबाट र सोभन्दा माथी बोलपत्रको माध्यमबाट खरिद गर्ने व्यवस्था छ । तर, खोटेहाङ गाउँपालिकाले एक वर्षमा मसलन्द तथा कार्यालय सामाग्री र पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन शिर्षकमा रु ३५ लाख २५ हजार ६६३ रकम खर्च गरेको छ । अर्थात सोझै खरिद गरेको देखिएको महालेखाले भनेको छ ।
खर्च पुष्टि हुने प्रमाण नभएको
पालिकाले चालु शिर्षकबाट रु २ लाख ३० हजार ८९३ सवारी साधन तथा मेसिन औजार खरिद गरी ढुवानीसमेत गरेकोमा कुन कुन सवारी साधन र मेसिन औजार ढुवानी वापत भुक्तानी गरेको भनेर एकिन हुने प्रमाण नै नभएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, वडा नम्बर ५ मा वडास्तरीय मर्मत सम्भार योजनाको लागि रु ५ लाख ५२ हजार ६५५ लागत अनुमान तयार गरी उपभोक्ता समितिसँग २०८० असोज २२ मा सम्झौता गरेकोमा उपभोक्ताले मंसिर ३० मा काम सम्पन्न गरेको भनी जेसिभि लगायतको बिल पेश गरी ४ लाख ८० हजार भुक्तानी गरेको देखिन्छ । तर कुन स्थानमा के कति काम भयो भन्ने कुनै विवरण पेश नभएको, अनुगमन पनि भएको नदेखिएको महालेको प्रतिवेदनमा उल्लेख छ । कामको मुल्यांकन नगरी, काम भएको स्थान नखुलाई भुक्तानी गनू मनाशिव नदेखिएको महालेखाले जनाएको छ ।
यस्तै, वडा नम्बर ५ मै लक्षित वर्ग समावेशी कार्यक्रम अन्तरगत १०० थान इलेक्ट्रिक जग र ९५ थान हर्लिक्स खरिद गरे बापत वडाध्यक्ष किरण राईलाई रु २ लाख भुक्तानी दिएकोमा स्टोर दाखिला गरेको तथा भरपाइ पेश गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । भरपाइ पेश गर्नु पर्ने नत्र असुल गर्नुपर्ने महालेखाले जनाएको छ ।
यस्तै, वडा नम्बर ८ का विद्यालयमा विद्यार्थीलाई ट्रयाकसुट तथा झोला वितरणको लागि ५ लाख ५० हजार भुक्तानी गरी ३३७ थान ट्रयाकसुट र ३३४ थान स्कुल ब्याग खरिद गरेकोमा स्टोर दाखिला नगरेको तथा वितरण गरेको भरपाइसमेत राखेको नदेखिएकाले भरपाइ पेश गर्नुपर्ने नत्र रकम असुल गर्नु पर्ने महालेखाको प्रतिवेदनमा भनिएको छ ।
खोटेहाङ गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को समग्र कायम बेरुजु रु १ करोड ८८ लाख ४३ हजार ५९ रुपैयाँ रहेको छ । जसमा असुल गर्नु पर्ने बेरुजु रु २७ लाख ७३ हजार २६४ रहेको छ । अनियमित भएको रु ४१ लाख ६१ हजार ८०१ रुपैयाँ रहेको । प्रमाणका कागजत पेश नभएको रु १ करोड १९ लाख ४७ हजार ३६४ रहेको महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।