
राजकुमार सरगम (भट्टराई)
खोटाङ, माघ १० गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङमा पुराना तीन पार्टीको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट १५ जनाले मनोनय दर्ता गरे पनि २०७९ मा भएको चुनावको मत परिणाम अनुसार मुख्य प्रतिस्पर्धा पुरानै तीन पार्टीको हुने देखिन्छ । यद्यपी नयाँ पार्टीहरुले पनि उतिकै चुनौती दिने देखिन्छ ।
०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धनबाट नेकपा माओवादीका रामकुमार राई निर्वाचित भएका थिए । राईले ३१ हजार ३५१ मत ल्याएर जिवयीहुँदा नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका थिए । यस्तै, जनता समाजवादी नेपाल पार्टीका डाक्टर कृष्ण कुमार राईले १ हजार ९१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले १ हजार ७६१ मत प्राप्त गरेका थिए ।
प्रत्यक्षतर्फको उम्मेद्वार पराजित भएपनि समानुपातिकमा सबै भन्दा धेरै मत नेकपा एमालेले प्राप्त गरेको थियो । एमालेको २४ हजार २७१, नेपाली कांग्रेसको १८ हजार ६७२, नेकपा माओवादी केन्द्रको ११ हजार ८४५, एकीकृत समाजवादीको ३ हजार ३६३, जनता समाजवादी नेपालको २ हजार २४८, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ हजार २५५ मत समानुपातिकमा आएको थियो । तत्कालिन अवस्थामा जिल्लामा संगठननै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा पनि समानुपातिकतर्फ १ हजार ४९७ मत आएको थियो ।
यसरी अघिल्लो निर्वाचनलाई हेर्दा खोटाङमा बलियो एमाले देखिन्छ । तर, त्यो निर्वाचनको जस्तो अवस्था अहिले छैन् । केही नयाँ पार्टीहरुले जिल्लामा संगठन बनाउदै गएका छन् । देशकै राजनीतिक घटनाक्रम पनि बदलिदो अवस्थामा छ । ०५६ सालदेखि लगातार चुनावमा उठ्दै आएका भट्टराई यस पटक पछि हटेका छन् । एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई अघि सारेको छ । अघिल्लो पटकको चुनावमा एमालेले ल्याएको मतको आधारमा पार्टीले जीत निकाल्ने एमालेजनको आकलन छ ।
यस्तै, ०७९ को चुनावमा गठबन्धनका कारण आफ्नो उम्मेद्वार उठाउन नपाएको नेपाली कांग्रेसले यस पटक महाधिवेशन प्रतिनिधि विरकाजी राईलाई उम्मेद्वार बनाएको छ । गुटगत राजनीतिले ग्रसित नेपाली कांग्रेस यस पटकको चुनावमा हालसम्म एक ठाउँमा देखिएको छ । राईको उम्मेद्वारीलाई सबैले स्विकारेको अवस्था देखिन्छ । यसरी कांग्रेस एक ठाउँमा उभिएर चुनावमा होमिदा जीत निकाल्न सक्ने कांग्रेसजनको आकलन छ ।
यस्तै, देशकै परिचित नाम राजनीतिक अर्थशास्त्री डाक्टर हरी रोकालाई उम्मेद्वार बनाएको नेपाली कम्युनिष्ट पार्टी पनि जीत निकाल्न उत्साहित देखिन्छ । सांगठानिकरुपले एमाले र कांग्रेस भन्दा जिल्लामा केही कमजोर भएपनि उम्मेद्वारका आधारमा जीत आफुहरुको पक्षमा हुने नेपाली कम्युनिष्ट पार्टीजनको उत्साह छ । यसरी तीन पुराना राजनीतिक दलले आफ्नो पक्षमा जीत हुने उत्साह ब्यक्ता छन् । उक्त तीनै पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
जिल्लाको दुई प्रदेशसभा सदस्यमा कमा एमालेका पाँचकर्ण राई र खमा कांग्रेसका भूपेन्द्र राई रहेका छन् । दुई नगरपालिकासहित दश स्थानीय तह रहेको खोटाङमा सबै भन्दा धेरै कांग्रेसका जनप्रतिनिधि छन् । दुई नगरपालिकाका प्रमुख, चार गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख तीन गाउँपालिका उपप्रमुख र ३२ वडाध्यक्ष कांग्रेसका छन् । समन्वय समिति प्रमुख र उपप्रमुखसहित दुई गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, दुई गाउँपालिका उपप्रमुख र २५ वडाध्यक्ष नेपाली कम्युनिष्ट पार्टीका छन् । दुई गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपप्रमुख र १९ वडाध्यक्ष नेकपा एमालेका रहेका छन् । यस्तै, एक गाउँपालिका उपप्रमुख र २ वडाध्यक्ष जसपाका रहेका छन् । एक वडाध्यक्ष भने कांग्रेसका बागी उम्मेद्वारले जितेका छन् ।
यता, पहिलो पटक जिल्लामा संगठन बिस्तार गरेर निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वातन्त्र पार्टी र भर्खर दर्ता भएर चुनावमा आएका श्रम संस्कृति पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले पनि पुराना राजनीतिक दलहरुलाई चुनौती दिने छन् । देशको बदलिदो राजनीति र युवाहरुको समर्थन रहेको राष्ट्रिय स्वातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले खोटाङमा राम्रै मत ल्याउने आकलन गरिएको छ । रास्वपाबाट रुद्र गिरी र श्रम संस्कृतिबाट आरेन राई उम्मेद्वार छन् । खोटाङ श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङको जन्मस्थल पनि भएकाले राम्रै मत ल्याउने आकलन गरिएको छ । यस्तै, जेनजी युवाहरुले दर्ता गराएका राष्ट्रिय परिवर्तन पार्टीले पनि जिल्लाबाट २५ वर्षीय मिरेश राईलाई उम्मेद्वार बनाएको छ । कुलमान धिसिङ केन्द्रीय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीको पनि साझा उम्मेद्वार राई रहेकाले उनको पक्षमा पनि राम्रै मत आउने आकलन गरिन्छ ।
यस्तै, अघिल्लो निर्वाचनमा तेस्रो भएको जसपा नेपाल अहिले दुई धारमा छ । जिल्लाका उम्मेद्वारनै अहिले पार्टी छाडिसकेका छन् । विभाजन भएको जसपाबाट राकेश राई र जसपा नेपालबाट सुनिल चाम्लिङ उम्मेद्वार छन् । अघिल्लो निर्वाचनमा जिल्लामा चौथो भएको राप्रपाले अहिले दिपक तामाङलाई उम्मेद्वार बनाएको छ ।
यस्तै, खोटाङबा अन्य उम्मेद्वारहरुमा नेपाल कम्युनिष्ट पार्टीबाट चन्द्र बहादुर बुढाथोकी, मंगोलनेश्नल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई, नेपाल मजदुर किसान पार्टीबाट ध्यान प्रसाद ढकाल, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ र स्वतन्त्र उम्मेदवारकोरुपमा डाक्टर राजकुमार राई र तिलक चन्द्र राई रहेका छन् ।
खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । १० स्थानीय तह रहेको खोटाङमा पुरुष ७७ हजार ६५६ जना तथा महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् । जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
