
कवि चक्र्र बहादुर राईको “गमला” कविता सङग्रह बिमोचन भएको छ । हलेसी तुवाचुङ नगरपालिको सभागलमा आज शनिबार नगर प्रमुख इवन राईद्धारा “गमला” कविता सङग्रहको बिमचोन भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिममा जन्मनु भएका कवि राईको पहिलो कविता सङग्रह प्रतिमाको इतिहास बि.स २०६० सालमा प्रकाशन भएको थियो । राईको दोस्रो सङग्रहको रुपमा “गमला” कविता सङग्रह हलेसी तुवाचुङ नगरपालिकाको आर्थीक सहयोग र अदृश्य कला केन्द्रको समन्वयमा प्रकाशनसँगै आज बिमोचन भएको हो । “गमला” कविता सङग्रह माईली छोरी गमलाको मृत्युको बियोगमा लेखेकिएको लेखक चक्र बहादुर राईले बताउँनु भयो । ३३ वटा शिर्षकका कविता समेटिएको संङग्रहमा बियोगान्तसँगै बिभिन्न शिर्षकका कविताको रसस्वादन गर्न सकिने कवि एवं समिक्षक मन कुमार राई (अकेला यात्री) ले बताउँनु भयो ।
अदृश्य कला केन्द्रका अध्यक्ष कुबेर राईको अध्यक्षता, नगर प्रमुख इवन राईको प्रमुख आतिथ्यता, नेपाली कांग्रेसका जिल्ला कार्य समिती खोटाङका सदस्य चक्र कुमार राईको बिशेष आतिथ्यता, जनता समाजबादी पाटी हलेसी तुवाचुङ नगरपालिकाका अध्यक्ष मबिन्द्र राई, नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम कार्की, नवकिरण सेवा समाजका अध्यक्ष दिप बहादुर राई, दुर्छिम माध्यमिक बिद्यालयका प्रधानाध्यापक मेजर राई लगाएतको आतिथ्यतामा भएको बिमोचन कार्यक्रमको सञ्चालन अदृश्य कला केन्द्रका महासचिव एवं शिक्षक एकराज बुढाथोकीले गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थीत सबैले “गमला” कविता सङग्रह उत्कृष्टसँगै नगरपालिकाकै पहिचान भएको भन्दै सफलताको शुभकामना दिएका छन । यस्तै समाजको विकास भन्नु भौतिक विकास मात्र नभएर सामाजिक विकास भित्र भौतिक विकाससँगै, भाषिक राजनैतिक, आर्थीक, मनोवैज्ञानिक, शैक्षिक, सांस्कृतिक, साहित्यिक, साङगितिक लगायत अनेक विकास देखिन आवश्यक रहेको भन्दै स्रस्टा र सृजनाको सदैव कदर गर्ने नगर प्रमुख इवन राईले बताउँनु भयो ।

कवि चक्र बहादुर राईकी माईली छोरी गमलाको बि.स २०६० सालको दशै पुुर्णिमाको दिन १७ बर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा घाँस काट्न जादा भीरबाट लडेर मृत्यु भएको थियो ।
त्यीनै मृतक छोरीको सम्झनामा कवि राईको एउटा कविता ।
गमला
प्यारो फूल फुल्ने, रमाउने, मुँस्कुराउने
घरको शोभा र सुन्दरता बढाउने गमला
आफै सुन्दर हुने
मेरो एउटा गमला र एक थुँगा फूल
कस्ले चुडेर कहिले कहाँ लगि दियो ?
त्यो फूल, गमला हराए पनि
मैले यो संसरमा उनलाई
न र्बिसन सकेँ न सम्झन ।
तर गमला तिमि साच्चिकै गमला भईदिएको भए
हराए पनि कुम्हालेसँग बनाउँन लगाउन सक्थेँ र लगाउथेँ
र कुनै मुल्यमा पाईने भए
चुकाउँथेँ मुल्य जीवन अर्पेर
तर भैदियौ टाढा मबाट
मेरै आँखा भरी नाचि हिड्ने गमला ।
मेरो घर भित्र बाहिर गमला त्यो मेरो थियो
आशामा हँसाउने
अहिले सम्झनाको घाउ
अहिले जीवन भरीको चोट
क्यान्सर भन्दा भयानक
पुत्रीसोक मेरो जीवन भरीको गहिरो घाउ ।
मुँस्कुराएर फक्रिन लागेको
सत्रौ बसन्तको एउटा सुन्दर फूल गमला
पापिष्ट दैवले तिमिलाई चुँडेर लगिदियो
साठी सालको आश्विन २३ गते
सायद दँशै पुर्णिमाको दिन
बगैँचा रित्तिए जस्तो भयो
न सपना न बिपना खै के भन्नु ???
न रात न दिन, गमला फुटेर गएछ
एउटा फूल ओईलिएर झरेछ ।
माया गर्नु नै नहुने गरेर
फुटेर, टुक्रिएर, चैटिएर
गमला गयौ गौरी भीरको थाप्लोबाट
डोको नाम्लो र थाप्लोसँगै
काली भैसी, तारी गाई र हल गोरुको खातिरमा
सदा सदाका लागि डोको नाम्लो र कचिया नबोक्ने गरेर
तिमिले फुल्नै नपाई, सुगन्धै नदिई
साथी संगी र दौतरीहरुलाई झझल्को छोडेर ।
बाँच्नेहरुका निम्ती सम्झनाको घाउ बनेर
संसार भुलेर हामीबाट टाढियौ
सुभ चिन्तक र आफन्तहरुबाट
तिमिले पाउँने—केवल श्राद्धाञ्जलीका आँसु
झझल्को, सम्झना र अन्तत उहि समबेदनाको लहर ।
तिमि मेरी प्यारी पुत्री गमला !
छाडेर हामिलाई पायौ के तिमिले ?
अब तिम्रो कोहिसँग नाता छैन, सम्बन्ध छैन
छ भने बाच्नेहरुबाट सम्झनाका तरेली
मात्र गमला छ ।।
