Thursday, April 16News That Matters

खोटाङमा महसुल नतिर्ने १३ ग्राहकको विद्युत काटियो


खोटाङ, मंसिर ३ : खोटाङमा लामो समय विद्युत महसुुल नतिर्ने १३ ग्राहकको विद्युत लाइन काटिएको छ । विद्युत महसुल तिर्न बारम्बार ताकेता गर्दा पनि अटेर गरेपछि १३ ग्राहकको विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख विजयराज रेग्मीका अनुसार खोटाङमा चार सय बढी उपभोक्ताले पाँच महिनासम्म विद्युत महसुल तिरेका छैनन् । मिटर रिडिङ भएको बढीमा ६० दिनभित्र महसुल बुझाउनुपर्ने भए पनि ती उपभोक्ताले हालसम्म महसुुल नबुझाएको उहाँको भनाइ छ ।

जिल्लामा चार सय १३ उपभोक्ताले पाँच हजार बढी बक्यौता र पाँच महिनाभन्दा बढी समय नाघिसक्दा पनि महसुल नतिरेका हुन् । ती उपभोक्ताबाट ६० लाख बढी बक्यौता उठ्न बाँकी छ । महसुल नतिर्नेमा सामुदायियक विद्युत संस्था, औद्योगिक ग्राहकहरू, स्थानीय वडा कार्यालयहरू, स्वास्थ्य चौकिहरू, विद्यालय र सर्वसाधारण ग्राहक रहेका केन्द्रले जनाएको छ ।

केन्द्रले महसुल बुझाउन ढिला गरेपछि पत्र लेखेर ताकेता गर्दासमेत ती उपभोक्ताले महसुल नबुझाएको प्रमुख रेग्मीको भनाइ छ । अटेरी गर्न थालेपछि ५ हजार बढी बक्यौता र महसुल नतिरेको ५ महिना बढी समय नाघेका ग्राहकहरूको लाइन काट्न थालिएको उहाँले बताउनुभयो ।

बिहिबार विद्युत काटिएका १३ जना उपभोक्ताबाट १३ लाख ८ हजार ८ सय ७७ रुपैयाँ ६३ पैसा महसुल उठ्न बाँकी छ । लाइन काटिएका १३ ग्राहकमध्ये एक ग्राहकले महसुल तिरेपछि काटिएको लाइन पुनः जडान गरिएको रेग्मीले बताउनुभयो ।