Thursday, April 16News That Matters

खोटाङमा एक ग्रील पसलले चोरी गरी विद्युत प्रयोग गरेको भेटियो


खोटाङ मंसिर ९ : जिल्लामा एक ग्रिल तथा बिजुली पसलले विद्युत चोरी गरी प्रयोग गरेको पाइएको छ ।

नेपाल विद्यत प्राधिकरण दिक्तेल वितरण केन्द्रले गरेको छड्के अनुगमनका क्रममा जिल्लाको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा उक्त पसलले चोरी गरी विद्युत उपयोग गरेको भेटिएको हो । चोरी गरेर विद्युत प्रयोग गरिरहेको उक्त पसलको लाइन काटिएको र चुहावट विनियमावली नियमअनुसार कारबाही गरिने विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुुभयो ।

सोही क्रममा खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा पनि अनुगमन गरिएको तर त्यहाँ अनियमितता फेला नपरेको उहाँको भनाइ छ । वितरण केन्द्रका अनुसार जिल्लाभरि लस अत्यधिक बढेकाले विद्युत चुहावट नियन्त्रण गर्न अनुगमन तीव्र पारिएको छ । यस्तै ५ हजार बढी महसुल र महसुल नतिरेको ५ महिना बढी समय नाघेका ग्राहकहरूको लाइन काट्ने क्रम पनि जारी रहेको वितरण केन्दले बताएको छ ।सो क्रममा हालसम्म ७० ग्राहकको लाइन काटिएको छ ।

लाइन काटिएकामध्ये ४० ग्राहकले ६ लाख ७३ हजार ३ सय २३ रुपैयाँ ४९ पैसा बक्यौता तिरेपछि काटिएको लाइन पुनः जडान गरिएको छ । अझै १४ लाख ७६ हजार ६ सय ७७ रुपैयाँ १० पैसा बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्रले जनाएको छ ।