
खोटाङ, असार २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा अजिंगर भेटिएको छ । डिकुवाको छोम्पाङ स्थित एक स्थानीयको घर भित्रको खाटमुनी (खाटको खुट्टामा) बेरिएको अवस्थामा फेला परेको सोही ठाउँका स्थानीय रमेश राईले जानकारी दिनुभयो ।
राईको भनाइ अनुसार शुक्रबार साँझको समयमा खाटको खुट्टमा बेरिरहेको अवस्थामा अजिंगर भेटिएको थियो । केही समयसम्म पनि अजिंगर कतै नगएपछि स्थानीयले पुजाँ गरेर पुच्छरमा समातेर बिस्तारै नजिकैको जंगलमा लगेर छाडिदिएको राईले बताउनुभयो । अजिंगर करीब ५ मिटर लामो रहेको उहाँको भनाइ छ ।
अजिंगर ठूलो सर्प हो । यो प्रायः घना वन जंगलमा बस्छ । यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्दछ । यो कहिलेकाहीँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्ने जानकारहरु बताउँछन । खोटाङमा भने आजसम्म यति ठुलो अजिंगर नदेखिएको नागरिकको भनाइ छ ।
