
राजकुमार सरगम
खोटाङ, भदौ १५ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकीदै गर्दा केही नेता गाउँ पस्न थालेका छन् भने केही नेता सहर छिरेका छन् । चुनावको समयमा मात्र गाउँ आउनेहरु अहिले जनतालाई अनुहार देखाउन आइपुगेका छन् । गाउँमै बस्नेहरु टिकट आफ्नो पक्षमा पार्न ठुला नेता फकाउन सहर पसेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टी (एस)ले दुवै सभामा खोटाङबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारकालागि नाम सिफारिस गरिसकेको छ । तीन ठुला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले पनि उम्मेद्वारको नाम सिफारिस गर्ने तयारी गर्दै छ । केही समय अगाडि भएको स्थानीय तहको निर्वाचनले तताएको गाउँघर सेलाएको थियो । अहिले पुनः चोकमा, चिया पसलमा, चोतारोहरुमा निर्वाचनका कुराहरु हुन थालेका छन् । मानिसहरुको भेटघाट बाक्लीएको छ । राजनीतिक दलहरुले बैठक निरन्तर गरिरहेका छने भने मत आफ्नो पक्षमा कसरी पार्ने भनेर रणनीति पनि बनाइरहेका छन् ।
अघिल्ला निर्वाचनहरुको परिणाम
नेपालमा २०४६ सालमा बहुदलको स्थापना पछि भएका निर्वाचनहरुमा धेरै पटक एमाले विजयी भएको छ । यसअर्थमा खोटाङमा अन्य पार्टी भन्दा एमाले बलियो छ भन्ने कुरा प्रस्ट हुन्छ । वि.स. २०४८ सालमा भएको पहिलो निर्वाचनमा खोटाङबाट एमालेका टंक राई, कुलप्रसाद शर्मा फुयाँल र अशोक राई विजयी भएका थिए । यस्तै, २०५१ को मध्यावधि निर्वाचनमा एमालेकै टंक राई र अशोक राई विजयी भए । एमाले फुटेर दुईटा पार्टी भएको बेला वि.स. २०५६ सालमा भएको चुनावमा भने कांग्रेसले बाजी मार्यो । खोटाङबाट उक्त समयममा कांग्रेसका सर्वधन राई र सिबकुमार बस्नेत विजयी भए ।
२०६४ सालमा भएको निर्वाचनमा भने कथाले अर्को मोड लिएर दुवै क्षेत्रमा माओवादीका उम्मेद्वार विजयी भए । एकमा रामकुमार राई र दुईमा समिता कार्की विजयी पश्चात माओवादीले आफ्नो साख पुनः जोगाउन सकेन । २०७० सालमा भएको निर्वाचनमा दुई क्षेत्रमा एमालेले आफ्नो झण्डा गाड्यो । जहाँ क्षेत्र नम्बर एकमा पाँचकर्ण राई र दुईमा विशाल भट्टराई विजयी भएका थिए । २०७४ सालमा भएको निर्वाचनमा भने बाम गठबन्धन थियो । कांग्रेसका उम्मेद्वारलाई सजिलै पराजित गर्दै खोटाङबाट प्रतिनिधिसभामा एमालेका विशाल भट्टराई, प्रदेशसभा ‘क’ मा एमालेकै राजन राई र प्रदेशसभा ‘ख’मा माओवादीका रामकुमार राई विजयी भए ।
प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमयलाई १३ हजार ७६५ मतले पछि पार्दै वाम गठबन्धन (एमाले) का उम्मेद्वार भट्टराई बिजयी भएका थिए । भट्टराईले ३५ हजार ३७७ मत पाएर विजयी हुँदा बजिमयले २१ हजार ६१२ मत पाएकी हुन् । प्रदेशसभा (क) मा एमालेका राईले १८ हजार ९३३ मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्वार सुवासकुमार पोखरेलले १३ हजार ४११ मत पाए । प्रदेशसभा (ख) मा वाम गठबन्धन (माओबादी केन्द्र) का उम्मेद्वार राईले १८ हजार ३७२ मत ल्याउँदा कांग्रेसका उम्मेद्वार बिष्णुकुमार राईले १२ हजार २३९ मत पाएका थिए ।
भर्खरै सम्पन्न स्थानीय तहको नतिजा
नेकपा एमालेले प्राय जितिरहेको जिल्ला हो खोटाङ, तर अब पुरानो नतिजामा केही परिवर्तन आउने संकेत देखिन्छ । स्थानीय तहको निर्वाचन, २०७९ मा सबैभन्दा बढी पालिकाको प्रमुख, उपप्रमुख र वडाको अध्यक्ष जितेर नेपाली कांग्रेस खोटाङको पहिलो दल बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ स्थानीय तहको प्रमुख, ३ स्थानीय तहको उपप्रमुख र २७ वडाको अध्यक्ष जितेर दोस्रो बनेको कांग्रेस यसपटक ६ स्थानीय तहको प्रमुख, ४ स्थानीय तहको उपप्रमुख र ३२ वडाको अध्यक्ष जितेर पहिलो बनेको हो ।
कांग्रेसले ३ स्थानीय तहको प्रमुख र १ स्थानीय तहको उपप्रमुख एक्लै लडेर र ३/३ स्थानीय तहको प्रमुख र उपप्रमुख नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजावदी पार्टी (जसपा) सँग गठबन्धन गरेर जितेको हो । वडाको अध्यक्ष भने धेरैमा एक्लै लडेर र थोरैमा गठबन्धन गरेर जितेको हो ।
गत निर्वाचनमा १ पालिकाको प्रमुख र १२ वडाको अध्यक्ष जितेर तेस्रो बनेको माओवादी यसपटक दोस्रो भएको छ । यसअघि ५ स्थानीय तहको प्रमुख, ७ स्थानीय तहको उपप्रमुख र ३७ वडाको अध्यक्ष जितेर जिल्लाकै पहिलो दल रहेको नेकपा एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ । केन्द्रमा एमालेले अन्य दलसँग गठबन्धन गरेको भए पनि जिल्लामा भने एक्लै लडेको थियो । पालिकामा समान २÷२ स्थानीय तहको प्रमुख र उपप्रमुख जिते पनि वडाको अध्यक्षमा माओवादीले बढी पद जितेको छ । माओवादीले २३ वडाको अध्यक्ष जित्दा एमालेले भने १९ वडाको मात्रै अध्यक्ष जितेको छ । माओवादीले २ पालिका प्रमुख गठबन्धन गरेर र २ उपप्रमुखमध्ये १ गठबन्धन गरेर, १ एक्लै प्रतिस्पर्धा गरेर र धेरै वडाको अध्यक्ष एक्लै लडेर र केहीको गठबन्धन गरेर जितेको हो ।
गत निर्वाचनमा २ वडाको अध्यक्ष जितेको तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) ले यसपटक १ पालिकाको उपप्रमुखसहित २ वडाको अध्यक्ष जित्दा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले जसपासँग बराबर १ पालिकाको उपप्रमुख र २ वडाको अध्यक्ष नै जितेको छ । अघिल्लो निर्वाचनमा १ वडाको अध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक पुरानै पद पनि रक्षा गर्न सकेन । जिल्लाका ७९ वडामध्ये १ वडामा भने स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।
कुन पार्टीको मतदाता कती ?
राजनीतिक दलहरु गठबन्धन गरेर चुनाव लड्दा कुन राजनीतिक दलको अवस्था कस्तो भनरे छुट्वान कठिन हुन्छ । तसर्थ भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन र ७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट दलहरुको अवस्था भन्न सकिन्न । ७० सालमा भएको प्रतिनिधिसभाको निर्वाचनलाई हेर्ने हो भने एमालेले दुवै क्षेत्रमा जीत हासिल गरेको थियो । नेपाली कांग्रेस दुवै क्षेत्रमा थोरै मतान्तरले मात्र पराजित हुँदा माओवादीको मतान्तर बढी थियो । तसर्थ पछिल्लो समय माओवादी जिल्लामा केही कमजोर देखिएको छ भने कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुनेमा कुनै शंका छैन ।
एमालेबाट माधव नेपाल समुह अलग भएर अर्कै पार्टी निर्माण गर्दा खोटाङमा कांग्रेसलाई फाइदा भएको छ भन्दा नपर्ला । तत्कालीन एमालेका जिल्ला अध्यक्ष बबी चाम्लिङ, प्रदेश सांसद राजन राई जस्ता नेता नयाँ पार्टी एकीकृत समाजवादीमा जादा एमालेलाई केही असर पक्कै परेको छ भन्न सकिन्छ । तसर्थ यो अवस्थामा सबै राजनीतिक दल एक्ला एक्लै चुनावी मैदानमा उत्रिने हो भने कांग्रेसले नतिजा आफ्नो पक्षमा पार्न सक्छ की भन्ने अड्कल काट्न सकिन्छ तर एमाले पनि त्यती कमजोर भने छैन । दुई पार्टीको कडा प्रतिस्पर्धामा माओवादी जता जाने हो नतिजा उतैको पोल्टामा पर्ने कुरामा दुई मत छैन् ।
यसर्थ एमाले र माओवादीको गठबन्धनले २०७४ मा भएको निर्वाचनमा खोटाङको प्रदेशसभा र प्रतिनिधिसभा दुवैमा जीत निकालेजस्तै आसन्न निर्वाचनमा कांग्रेस माओवादी, एकीकृत समाजवादी लगाएतका दलको गठबन्धनले खोटाङमा सजिलै जीत निकाल्न सक्छ भन्ने कुरालाई नकार्न सकिन्न । दलहरु एक्ला एक्लै चुनाव लडेको समय २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षका उम्मेद्वारहरुले पाएको पार्टीगत मत हेर्ने हो भने कांग्रेस भन्दा एमाले करीब २ हजार मतले अगाडि छ । एमालेका अध्यक्षहरुले २४ हजार ६ सय ३ मत पाउदा कांग्रेसका अध्यक्षहरुले २२ हजार ७ सय ९३ मत पाएका थिए । यस्तै माओवादीका अध्यक्षका उम्मेद्वारहरुले १६ हजार ७ सय ४५ मत पाएका थिए ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा भने गठबन्धन भएकाले मतदाताले भोट क्रस हानेका कारण पार्टीगत मत छुट्वान नसकिने निर्वाचन कार्यालय खोटाङले जनाएको छ । यद्यपी एमालेको फुटका कारण केही मत कांग्रेसको बढी हुन सक्ने जानकारहरु बताउछन् । तसर्थ मत परिणाम अनुसार कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धन हुँदा एमाले सजिलै पराजित हुने देखिन्छ ।
गठबन्धनमा टिकट पाउन कसलाई सहज
म्ांसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमाले एक्लै वा साना पार्टीसँगको गठबन्धन र हाल सरकारमा रहेका ५ पार्टीको गठबन्धन कायम रहने निश्चित छ । एमालेले राप्रपा लगायत अन्य साना पार्टीसँग गठबन्धन गरेपनि उनिहरुको प्रभाव खोटाङमा खासै नभएका कारण एमालेकै उम्मेद्वार हुने कुरामा दुई मत छैन् । यता पाँच दलीय गठबन्धनमा भने कुन पार्टीको भागमा के पर्ने भनेर एकिन गर्न सक्ने अवस्था छैन् ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको पपुलरको आधारमा सिट बाढ्ने हो भने खोटाङमा नेकपा एस र जसपाले भाग पाउने अवस्था देखिदैन । उनिहरुले मात्र २÷२ वटा वडाध्यक्ष जित्न सफल भएका छन् । तर प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री नेकपा एसका राजन राईको जिल्ला भएका कारण एसले पक्कै भाग खोज्ने छ । तसर्थ खोटाङ प्रदेशसभा ‘क’ मा नेकपा एसले भाग पाउन सक्ने आकलन पनि झिनो मात्रमा गर्न सकिन्छ । यता जसपा नेपालले पनि आफुले भाग पाउनु पर्ने भन्दै पार्टीका संघीय परिषद अध्यक्ष असोक राईलाई खोटाङबाट सिफारिस गरिएको छ । यद्यपी पार्टी फुटका कारण नेताहरु तितरबितर भइरहेको अवस्थामा खोटाङमा जसपाले भाग पाउने अवस्था देखिदैन् ।
यता नेपाली कांग्रेस ६ वटा पालिकामा प्रमुख र ३२ वटा वडाध्यक्ष जितेर आफ्नो दबदबा कायम गर्न सफल छ । आफुलाई प्रतिनिधिसभा र एक प्रदेशसभा भागमा पर्नुपर्ने कांग्रेसका नेताहरु बताउछन् । यस्तै माओवादी पनि दुई पालिका प्रमुख र २३ वटा वडाध्यक्ष जितेर जिल्लामा दोस्रो राजनीतिक दल बनेको छ । तसर्थ उसको पनि भनाइ कांग्रेसकै जस्तो छ । तर पपुलर मतका आधारमा सिट भागबण्डा हुँदा कि प्रतिनिधिसभा की एक प्रदेशसभा पाउन सक्ने सम्भावना छ ।
यता भागबण्डाका आधारमा खोटाङ माओवादीको भागमा पर्दा कांग्रेसले दुवै प्रदेशसभा पाउने अवस्था छ । तर त्यसोहुन नसकेमा प्रतिनिधिसभा कांग्रेस, प्रदेश सभा ‘क’ नेकपा एस र प्रदेश सभा ‘ख’ माओवादीको भागमा आउनसक्ने सम्भावना पनि रहेको नेताहरु बताउछन् । यद्यपी पपुलर मतका आधारमा नेकपा एस र जसपा नेपालले खोटाङमा भाग पाउन कठिन देखिन्छ ।
