Thursday, April 16News That Matters

खोटाङमा २४ घण्टा भित्रमा करेण्ट लागेर दुई जनाको मृत्यु

सांकेतिक तस्विर

खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लागेर २४ घण्टा भित्रमा दुई जनाको ज्यान गएको छ । शनिबार राती विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको थियो । २४ घण्टा नबित्दै आइतबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा अर्का एक जनाको करेण्ट लागेर ज्यान गएको छ ।

बुईपास्थित ३३ के.भीको हाइटेन्शन लाइनमा करेण्ट लाग्दा डाँडाखर्कका करीब ३५ वर्षका नगिन्द्र राईको ज्यान गएको छ । बुईपामा विद्युत मर्मत कार्य सकेर फर्कनेक्रममा भर्‍याङ गाडिमा राख्न लिएर जाँदा हाइटेन्शन लाइनको तारमा भर्‍याङले छुएर राईलाई करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भिर घाइते राईलाई उपचारकालागि नजिकै रहेको बुईपा स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो ।

मृतक राई दैनिक ज्यालादारीमा प्राधिकरणमा काम गर्दै आएका थिए । घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।