
खोटाङ, कात्तिक ५ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जलन्धारा प्राथमिक विद्यालयले विद्यार्थीको गलत डाटा नगरपालिकामा पठाउने गरेको पाइएको छ । विद्यालयमा जम्मा ७ जना विद्यार्थी रहेका छन् । तर विद्यालयले आइएमइएस डाटामा २४ जना भरेर पठाएको पाइएको हो ।
नगरपालिकाका मेयर विमला राई, उप–मेयर रमेश कुमार राउत, शिक्षा शाखा संयोजक पदम बहादुर कार्की लगायतको टोली शुक्रबार विद्यालयको अनुगमन गर्न जादा यस्तो पाइएको मेयर राईले बताउनुभयो । स्थानीय अभिभावकका अनुसार विद्यालयमा ७ जना विद्यार्थीले मात्र नाम दर्ता गराएका छन् । शुक्रबार भने तीन जना मात्र विद्यार्थी विद्यालयमा आएका थिए । विद्यालयमा नाम दर्ता नै नगराएका नक्कली विद्यार्थीको नाम लेखेर शिक्षकले हाजिरीसमेत गर्नेगरेको देखिएको मेयर राईको भनाइ छ ।
विद्यालयले नगरपालिकामा पठाएको शैक्षिक सत्र २०७९/८० को आइएमइएस डाटामा २४ जना विद्यार्थी रहेको उल्लेख गरिएको शिक्षा शाखा संयोजक कार्कीले बताउनुभयो । सोही २४ जनालाई किताब खरिद गर्न नगरपालिकाले बजेटसमेत दिएको छ । गत बैशाख, जेठ र असार महिनाको दिवा खाजाको रकम पनि २४ जनालाई गएको पाइएको छ । तर विद्यालयमा भने ७ जना मात्र विद्यार्थी रहेका छन् । कक्षा १–३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा एक जना कार्यालय सहयोगीसँगै शिक्षक सिता कार्की (प्रधानाध्यापक) कार्यरत रहनुभएको छ । प्रअ कार्कीलेसमेत उक्त कुरालाई स्विकार गर्नुभएको छ ।
‘मेरो यहाँ २०७६ सालको नियुक्ती हो, म आउदा करीब ११ जना विद्यार्थी थिए, तर संख्या २४÷२५ नै जनाउने गरिएको थियो डाटामा । अहिले विद्यार्थी घटेर ७ जना भएका छन् । विद्यार्थी संख्या थोरै हुँदा विद्यालय हट्ने डरले विद्यालय व्यवस्थापन समितिसँग छलफल गरेर हामीले विद्यार्थी संख्या बढाएर पठाएका हौँ । नगरबाट आएको दिवा खाजा र किताब खरिदमा बाकी रहेको रकम विद्यालयकै खातामा जम्मा हुन्छ । उक्त रकमले हामीले विद्यालयको विभिन्न समस्या समाधान गर्दै आएका छौँ । रकम हिनामिना गरिएको छैन् । प्रअ कार्कीले भन्नुभयो ।
अनुगन गर्दा विद्यार्थी संख्या बढी देखाएर पठाएको यथार्थ कुरा खुलेपछि नगरपालिकाले प्रअ कार्कीसँग जवाफ मागेको छ । रकम हिनामिना गरेको पुष्टि भए कारवाहिको प्रक्रियासमेत अघि बढाउने नगरले जनाएको छ । ‘विद्यार्थी संख्या ७ जना हुँदाहुँदै २४ जनाको नाममा विद्यालयमा किताब खरिद र दिवा खाजाको रकम जादोरहेछ । जलन्धारा प्राथमिक जस्तै अन्य विद्यालयमा पनि यो अवस्था हुन सक्ने हाम्रो आकलन छ ।’ मेयर राईले भन्नुभयो ।
मेयर राईका अनुसार दशै भन्दा यता जलन्धारासँगै सरस्वती मा.वि. अर्खौले, दुर्छिम मा.वि. दुर्छिम, जगदम्बा आ.वि. महादेवस्थान, पञ्चकौशिका आ.वि. राजपानी, र बोझेओडार आ.वि.बडहरे गरी ६ वटा विद्यालयको अनुगमन गरिएको छ । ६ वटा मध्ये कुनै विद्यालयमा पठनपाठन गर्नुपर्ने समय भन्दा अगाडि नै शिक्षक घर गएको, कुनैमा शिक्षकले भोलीसम्मको हाजिरी अघिल्लै दिन लगाउने गरेको पाइएको छ भने बोझेओडार आ.वि.मा हालसम्म शौचालय नै नभएको पाइएको उहाँको भनाइ छ ।
‘कुनै विद्यालयबाट भवन, कुनैबाट शौचालय लगायतका विभिन्न संरचना माग गर्नुहुन्छ । पठनपाठन राम्रो भएको सबैको दावी छ । त्यसैले वास्तवीक कुरा थाहा पाउन हामीले विद्यालयमा अनुगमन गर्ने कार्य सुरु गरेका छौँ । समय मिलाएर हामी सबै विद्यालयमा यसरी नै पुग्ने छौँ । भएका त्रुटी सच्याउन लगाउने छौँ भने आवश्यकताको परिपुर्ती गर्ने प्रयास गर्नेछौँ ।’ मेयर राईले भन्नुभयो ।
शिक्षामा सुधारका लागि विद्यालयमा इन्टरनेट जडान, सामुदायिक विद्यालयमा (जेरो फी) कार्यक्रम लागू, माध्यमिक विद्यालयको कक्षा एकमा अंग्रेजी माध्ययमबाट पठनपाठन सुरु, स्थानीय भाषाहरु विद्यालयमा पठनपाठन सुरु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यपकसँग छलफलसँगै क्षमता अभिवृद्धि तालिम प्रदान लगायतका काम नगरपालिकाले गरिरहेको मेयर राईको भनाइ छ ।
