Thursday, April 16News That Matters

खोटाङमा विद्यालयबाट घर फर्किदै गरेकी बालिका शंकास्पद अवस्थामा मृत फेला

मृत भेटिएकी बालिका

खोटाङ, माघ २ । खोटाङमा १७ वर्षिया बालिका शंकास्पद अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी रञ्जिता दाहाल घर नजिकै मृत अवस्थामा भेटिएकी हुन् ।

महेन्द्रद्धोय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रञ्जिता आईतबार विद्यालय गएर घर नफर्किएपछि खोजी गर्दा सोमबार बिहान घर नजिकै शंकास्पद अवस्थामा उनको शव भेटिएको हो । आइतबार अपरान्ह घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी बालिकाको शव घर भन्दा करीब २ सय मिटर टाढा खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सुरुमा स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको ओठ, आँखा, घाँटीमा चोट देखिएको, सलको एक टुक्रा घाँटीमा र एक टुक्रा रुखको हाँगामा रहेकाले घटना शंकास्पद देखिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो ।

माघ ३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका बेपत्ता भएकी थिन् ।

घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झुण्डिएको’ विषय खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) मञ्जिल मुकारुङले बताउनुभयो ।