Thursday, April 16News That Matters

अब हलेसि आउने पर्यटकले यथार्थ बुझ्दै गाइडसँग घुम्न पाउने छन्

तालिममा सहभागिलाई पमाणपत्र प्रदान गरिदै

खोटाङ, माघ ४ । आगामि दिनमा त्रि–धार्मिक स्थल तपोभूमि हलेसीमा आउने पर्यटकले यथार्थ बुझ्न पाउने भएका छन् । हलेसी र आसपासका पर्यटकीय क्षेत्रको बारेमा पर्यटक घुमाउन र यर्थाथ बुझाउन नगरपालिकाले गाइड तालिम प्रदान गरेको छ ।

नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेज्मेण्ट (नाथम) सँगको सहकार्यमा नगरपालिकाले ३१ जनालाई स्थानीय पर्यटक गाइड तालिम प्रदान गरेको हो । आठ दिनसम्म सञ्चालन भएको तालिमको बुधबार समापन गरिएको छ । गाइड सम्बन्धि तालिमका लागि नगरपालिकाले मंसिर ८ गते सूचना निकालेको थियो । जसमा ३३ जनाको आवेदन परेपनि २ जनाको आवश्यक प्रक्रिया नपुगेकाले ३१ जनालाई तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

तालिमबाट हलेसी र आसपासका पर्यटकीय क्षेत्रको ऐतिहासिक कुराहरु पर्यटकलाई बुझाउन सकिने भएको सहभागि मोतिराज राईले बताउनुभयो । फिल्डमै पुगेर सबै कुरा सिक्न पाएकाले आगामि दिनमा अरुलाई त्यसको महत्वको बारेमा बुझाउन सकिने अर्का सहभागि सरला राई बताउनुहुन्छ । तालिमबाट प्राप्त ज्ञानसँगै त्रि–धार्मिक स्थल हलेसी र आसपासका गुफाहरुको बारेमा थप अन्य पुस्तकबाट पनि अध्यायन गरेर पर्यटकहरुलाई गाइड गर्ने सोँच रहेको तालिममा सहभागि विमला कट्वालको भनाइ छ ।

तालिमको समय छोटो भएपनि फिल्डमै लगेर ऐतिहासिक तथ्यसँगै गाइडलाई आवश्यक कुराहरु प्रशिक्षण गरिएको (नाथम) का वरिष्ठ प्रशिक्षक सुभम पौडेलले बताउनुभयो । पर्यटकको सुरक्षा, चोट पटकबाट बच्ने उपाय लगायत पर्यटकलाई सुरक्षति तरिकाले भ्रमण गराउने कुराहरु पनि प्रशिक्षण गरिएको उहाँको भनाइ छ ।

पर्यटकहरुलाई हलेसी र आसपासका धार्मिक तथा पर्यटकीय स्थलको महत्वको विषयमा विभिन्न ढंगले बर्णन गर्ने गरेको पाइएको उपमेयर रमेश कुमार राउतको भनाइ छ । अब तालिम पश्चात हलेसीको खास तथ्य पर्यटकहरुले बुझेर जाने उपमेयर राउतले विश्वास ब्यक्त गर्नुभयो । यस्तै, तालिम समापनसँगै प्रशिक्षर्थीहरुको नाम नगरपालिकाले सुचिकरण गर्ने मेयर विमला राईले बताउनुभयो । तालिम लिएका ब्यक्तिहरुको क्षमताका आधारमा नगरपालिकाले रोजगारसमेत प्रदान गर्ने उहाँको भनाइ छ ।

‘हलेसी आसपास भएका अरु महत्वपुर्ण स्थानको बारेमा जानकार नहुँदा पर्यटकहरु आएर एउटा गुफामा मात्र दर्शन गरेर फर्किहाल्नु हुन्छ । यहाँ भएका अन्य स्थानको महत्व उहाँहरुलाई बुझाएर घुमाउनको लागि, हलेसीकै बारेमा पनि यसको यथार्थ तथ्य पर्यटकलाई बुझाउनका लागि पर्यटक गाइडको आवश्यकता थियो । सोही अनुसार हामीले तालिम प्रदान गरेका छौँ । नगरपालिकाको ११ वटै वडामा पर्यटकीय क्षेत्रहरु छन् । अब त्यी सबै क्षेत्रमा पर्यटक घुमाउनका लागि उहाँहरुलाई रोजगारको सृजना गर्छौँ ।’ मेयर राईले भन्नुभयो ।

आठ दिनसम्म सञ्चालन भएको स्थानीय पर्यटक गाइड तालिमको प्रशिक्षकको रुपमा (नाथम)का विभागीय प्रमुख अजय कुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह–प्राध्यापक तथा संकृत विद् डा.लोकनाथ दुलाल, (नाथम)का वरिष्ठ प्रशिक्षक सुभम पौडेल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्धेता भोगीराज राई रहनुभएको थियो । तालिम समापन कार्यक्रममा मेयर राई, उपमेयर राउतसँगै, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् ।

हलेसीमा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पुजापाठ गर्ने गर्छन । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्ने गरेका छन । हिन्दु, बौद्ध र किरात तिनै वटा धर्महरुको आ–आफ्नै छुट्टै इतिहास रहेको जानकारहरु बताउछन् ।