Friday, April 17News That Matters

खोटाङमा घर फोडेर चोरी गर्ने तीन जना पक्राउ


खोटाङ, माघ ५ । खोटाङमा घर फोडेर चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई घरबाट नगद, सुन, चाँदी,पुराना सिक्का, लत्ता कपडा गरी करीब ९ लाख बराबरको चोरी गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १९ वर्षीय कृष्ण विश्वकर्मा, ३९ वर्षीय पर्शुराम विश्वकर्मा र वडा नम्बर ४ खाल्लेका २२ वर्षीय इन्द्र विश्वकर्मा रहेका छन् । तीन मध्ये कृष्णलाई सुरुमा पुस २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पर्शुराम राईले जानकारी दिनुभयो । कृष्णको बयानका आधारमा अन्य दुईलाई २९ गते पक्राउ गरिएको उहाँको भनाइ छ ।

मंसिर १३ गते लफ्याङको घिमिरे चोकस्थित एक घरमा नगद, सुन, लत्ता कपडा लगायत पुराना मुल्यवान सिक्कासमेत गरी रु ५ लाख ७१ हजार बराबरको चोरी भएको उजुरी प्रहरीकोमा आएको थियो । मंसिर २० गते दिक्तेल बहुमुखी क्याम्पस नजिक एक घारबाट सुन, चाँदी, पुराना सिक्का गरी ३ लाख ७२ हजार बराबरको चोरी भएको भन्दै उजुरी आएको थियो । प्रहरीको अनुसन्धानबाट उक्त दुई घरको चोरी गर्ने सोही तीन जना रहेको खुलेकाले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको सुचना अधिकारी राईले बताउनुभयो ।

पक्राउ परेका इन्द्र विश्वकर्माको घरबाट चोरी भएका केही नगद र सामानहरु प्रहरीले बरामदसमेत गरेको जनाइएको छ ।