Friday, April 17News That Matters

खोटाङ : शंकास्पद अवस्थामा मृत भेटिएकी रञ्जिताको हत्या आशंकामा एक ब्यक्ति पक्राउ


खोटाङ, माघ ६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया रञ्जिता दाहालको हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माघ १ गते विद्यालय गएर घर फर्किनेक्रममा बेपत्ता बनेकी रञ्जिता माघ २ गते घर नजिकै मृत फेला परेकी थिइन् । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले रावा बेसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त विश्वकर्मालाई पक्राउ गरेको हो ।

दुबेकोलका विश्वकर्मा हाल मृतक बालिकाको घर नजिकै काभ्रेमै बस्दै आएका छन् । स्थानीय र बालिकासँग विद्यालयबाट फर्किने साथीले दिएको जानकारी अनुसार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । विश्वकर्मालाई ज्यान सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पर्शुराम राईले बताउनुभयो ।

महादेवस्थानस्थित महेन्द्रद्धोय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रञ्जिता माघ १ गते विद्यालय गएर घर नफर्किएपछि खोजी गर्दा माघ २ गते बिहान घर नजिकै शंकास्पद अवस्थामा उनको शव भेटिएको थियो । बालिकाको शव घर भन्दा करीब २ सय मिटर टाढा खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको स्थानीयले भेटेर प्रहरीलाई खबर गरेका थिए ।

बालिकाको ओठ, आँखा, घाँटीमा चोट देखिएको, सलको एक टुक्रा घाँटीमा र एक टुक्रा रुखको हाँगामा रहेकाले घटना शंकास्पद देखिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीको भनाइ थियो ।

माघ ३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका बेपत्ता भएकी थिन् ।

विद्यालयबाट घर फर्कने क्रममा मृतक रञ्जिता र उनको साथीले घटनामा आरोपित विश्वमर्काको श्रीमतिसँग सम्बन्ध विच्छेद भएछ नी भन्दै गफ गरेका थिए । उक्त कुरा सुनेर विश्वकर्मा रञ्जितासँग आक्रोसित बनेका थिए । आक्रोसित विश्वकर्माले घर जादै गरेकी रञ्जितालाई पछ्याएको बुझीएको छ । विश्वकर्माले रञ्जितालाई जबर्जस्तीकरणी गरी हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । यद्यपी मृतक रञ्जिताको पोष्टमार्टम रिर्पोट आउन बाकी छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईको भनाइ छ ।