Friday, April 17News That Matters

खोटाङ : प्रधानाध्यापकले लापरबाही गरेको भन्दै विद्यार्थीले लगाए ताला


खोटाङ, माघ ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् । प्रधानाध्यापक रामदेव यादबले लापारबाही गरेको भन्दै विद्यार्थीले विद्यालयको प्रशासन कार्यालमा ताला लगाएका हुन् ।

विद्यालयमा माघ २ गतेसम्मका लागि हिउदे विदा गरिएको थियो । सरकारले माघ २ गते सार्वजनिक विदा दिएका कारण विद्यालय ३ गतेबाट सञ्चालनमा आउनु पर्ने थियो । ३ गतेदेखि नै विद्यालयका ढोकाहरु खुले पनि प्रधानाध्यापक यादबसहित अन्य ५ जना शिक्षक विद्यालय आएनन् । माघ ५ गते बिहिबारसम्म पनि शिक्षकहरुको अत्तोपत्तो नभएपछि विद्यार्थी आक्रोसित बन्दै विद्यालयमा ताला लगाएका छन् । विद्यालयमा उत्पन्न समस्या समाधानको माग गर्दै विद्यार्थीहरुले वडामा निवेदनसमेत दिएका राजापानीका वडाध्यक्ष अनिश कार्कीले बताउनुभयो ।

वडाध्यक्ष कार्की लगायत जनप्रतिनिधि शुक्रबार गएर प्रधानाध्यापक आएपछि छलफल गर्ने गरी विद्यालयको ताला खोल्न अनुरोध गर्दा विद्यार्थीले मानेन् । प्रधानाध्यापक यादबले पटक पटक विद्यालयमा लापारबाही गरेको विद्यार्थीको आरोप छ । कसैलाई जानकारी नगराइ, निमित्त प्रधानाध्यापक नतोकि प्रधानाध्यापक यादब पटक पटक विद्यालयबाट गायब हुने गरेको विद्यार्थीको भनाइ छ । प्रधानाध्यापक यादब र अन्य शिक्षक आएपछि सोमबार छलफल गरेर समस्याको समाधना खोजिने वडाध्यक्ष कार्कीले बताउनुभयो । तर प्रध्यानाध्यापक यादबले विद्यालयको बैठक राख्ने कुराहरुमा सधै अटेर गर्नेगरेको, विद्यालयलाई बेवास्ता गरेजस्तो देखिएको वडाध्यक्ष कार्कीको भनाइ छ । हाल भने अन्य ५ जना शिक्षक पनि विद्यालयमा उपस्थित छैनन् ।

यता प्रधानाध्यापक यादबले भने आफु विद्यालयकै कामले उपस्थित नभएको बताउनुभएको छ । हिउदे विदामा लहान घर भएको र कक्षा ११/१२ का विद्यार्थीको परिक्षा फारम र राजश्व परिक्षा बोर्ड कार्यालय लहानमै बुझाउनु पर्ने भएकाले आउन केही दिन ढिला भएको उहाँको भनाइ छ । अन्य शिक्षकहरुलाई समयमै विद्यालयमा आउन जान भनेर आफु विद्यालयको कामले मात्र बाहिर निस्कने गरेको प्रधानाध्यापक यादबको भनाइ छ ।