Friday, April 17News That Matters

समयमा विद्यालय नआउने शिक्षकमाथी नगरपालिका एक्सनमा, पाँच दिन पछि ताला खुल्यो

विद्यालयमा उत्पन्न समस्या सधाधानका लागि सोमबार विद्यालयमा भएको छलफल

खोटाङ, माघ ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा लगाइएको ताला पाँच दिन पछि खुलेको छ । प्रधानाध्यापक रामदेव यादबको लापारबाहीसँगै शिक्षक समयमा उपस्थित नभएको भन्दै विद्यार्थीले बिहिबार विद्यालयमा ताला लगाएका थिए । ताला लगाएको पाँच दिन पछि सोमबार खुलाएर पठनपाठन सुरु भएको छ ।
नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्र कुमार राई, शिक्षा शाखा प्रमुख पदम बहादुर कार्की, वडाध्यक्ष अनिश कार्की लगायतको समुहले विद्यालयमा लगाइएको ताला खोलेको हो । संयोजक राई, शाखा प्रमुख कार्की, वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभाबक संघ, अभिभाबक लगायत सरोकारवाला निकायको छलफलले विद्यालयको ताला खोलेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । हिउदे विदा सकिएर माघ ३ गतेबाट विदालय सञ्चालनमा आएपनि प्रधानाध्यापक यादबसहित पाँच जना शिक्षक माघ पाँच गतेसम्म उपस्थित नभएपछि आक्रोसित बन्दै विद्यार्थीले विद्यालयमा ताला लगाएका थिए ।
समयमा उपस्थित नहुने प्रधानाध्यापक यादब, शिक्षकहरु रञ्जन नेपाल, अम्बिरलाल ठाकुर, जिबछ यादब र बदन हास्दालाई वडा शिक्षा समितिले तीन दिन भित्र बुझाउने गरी लिखित स्पष्टीकरण सोधेको वडाध्यक्ष कार्कीले बताउनुभयो । चित्तबुझ्दो जवाफ नआएमा कानुन अनुसार कारबाहीका लागि सिफारिस गरिने निर्णय भएको उहाँको भनाइ छ । प्रधानाध्यापक यादबले भने पटक पटक विद्यालयमा लापरबाही गरेकाले कारबाहीको लागि सिफारिस गरिएको छ । कसैलाई जानकारी नगराइ, लिखित निमित्त प्रधानाध्यापक नदिएरै विद्यालयबाट पटक पटक बेखबर बनेकाले कारबाहीको लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । वडा शिक्षक समितिले निर्णय गरेका कतिपय निर्णयको पनि पालना नभएको प्रधानाध्यापक यादबमाथी आरोप छ । प्रधानाध्यापकको बिकल्प खोज्ने अवस्थामा वडा पुगेको वडाध्यक्ष कार्कीको भनाइ छ ।
तत्कालै नगरपालिकाबाट पनि प्रधानाध्यापक र अनुपस्थित शिक्षकलाई स्पष्टीकरण सोधिने शिक्षा शाखा प्रमुख कार्कीले बताउनुभयो । प्रधानाध्यापक र शिक्षकमाथी प्रश्न उठाउदै विद्यार्थीले ताला लगाएपछि शनिबार र आइतबार बिदा रहेकाले सोमबार विद्यालय खुल्ने समयमै नगरपालिका र वडाको समुह पुगेर विद्यालयको ताला खुलाएको उहाँको भनाइ छ । प्रधानाध्यापक र शिक्षक माथी नियम अनुसार कारबाही गरिनेसमेत उहाँले बताउनुभयो ।
यता प्रधानाध्यापक यादबले भने आफु विद्यालयकै कामले उपस्थित नभएको बताउनुभएको छ । हिउदे विदामा लहान घर भएको र कक्षा ११÷१२ का विद्यार्थीको परिक्षा फारम र राजश्व परिक्षा बोर्ड कार्यालय लहानमै बुझाउनु पर्ने भएकाले आउन केही दिन ढिला भएको उहाँको भनाइ छ ।