Friday, April 17News That Matters

जापानी र नेपाली मेयरबीच मौलिक संस्कृति, झल्काउने उपहार आदान प्रदान


खोटाङ, माघ १३ । जापान भ्रमणमा जानुभएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका मेयर ओखावा हिदेकोसँग बिहीबार औपचारिक भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप मेयर भट्टराईले हस्तान्तरण गर्नुभएको हो ।

समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित् वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डाअंकित लगायतका उपहार तोचिगी नगरका मेयर हिदेकालाई हस्तान्तरण गर्नुभएको छ । जापानकोतर्फबाट तोचिगीका मेयर हिदेकाले त्यहाँको उच्च सम्मान अनुसार प्रदान गरिने अंगुरबाट बनेको प्लेट, स्थानीय हस्तलिपिबाट बनेको पंखा उपहारस्वरुप मेयर भट्टराईलाई हस्तान्तरण गर्नुभएको बताइएको छ ।

मेयर भट्टराईले तोचिगी नगरका मेयर सामु ‘नेपाल र जापानको घनिष्ठ र मित्रवत सम्वन्ध अमर बनाउन तोचिगी आएको’ बताउनुभएको थियो । भेटघाटका क्रममा मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भ्रमणका लागि निमन्त्रणासमेत दिनुभएको छ । ‘जापानको सडक, शिक्षा, कृषि, फोहोर व्यवस्थापन र सरसफाई, अतिथि सत्कारको संस्कृति, कामप्रतिको लगाव र कर्तव्यबोध गर्ने जापानी नागरिकको विषयमा जति बढेको र सुनेको थिएँ,’ मेयर भट्टराईले भन्नुभयो, ‘यहाँ आएर प्रत्यक्ष हेरेपछि मैले पढेको र सुनेको भन्दा अझ धेरै गुणा पाएँ ।’ गत मंसिर ९ गतेको मन्त्रिस्तरीयनिर्णय अनुसार भट्टराई पुस २९ गते भ्रमणका लागि जापान जानुभएको हो ।

तोचिगी नगरको गेटदेखिभित्र नेपाल र जापानको राष्ट्रिय झण्डा लहरै राखेर गेटबाट प्रवेश गरेलगत्तै दायाँ–बायाँ बसेका कर्मचारीले नेपाल र जापानको राष्ट्रिय झण्डा हल्लाउँदै मेयर भट्टराईलाई स्वागत गरेका थिए । तोचिगी नगरले मेयर भट्टराईलाई दिइएको सम्मानले गौरवान्वित बनाएको एनआरएनए तोचिगी अध्यक्ष मन्दीप क्षेत्रीले बताएउनुभयो । तोचिगीमा १५ वर्षदेखि बसेर एसएमएस कर्पोरेशन कम्पनी सञ्चालन गर्दैआउनुभएका महेश लुईटेलले मेयर भट्टराईलाई दिइएको सम्मान यसअघि तोचिगीको सरकारी स्तरमा कहिल्यै नभएको प्रतिक्रिया दिनुभएको छ ।

दुई नगरका प्रमुखबीचको भेटले दीर्घकालिन सम्बन्ध स्थापित गर्न कोसेढुंगा सावित हुने र भगिनी सम्वन्ध स्थापित हुने संकेतका मिलेको शेर्पा ट्रेडलिंक कम्पनी जापानका अध्यक्ष निमा शेर्पाले बताउनुभयो । नेपालका मेयर भट्टराई र जापानका मेयर हिदेकाबीचको भेटमा जापानकोतर्फबाट तोचिगी नगरपालिकाका अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख आओकी हिरोसी र निर्देशक आकीहिरो ओवातमका, नीति निर्माण विभाग प्रमुख केवुकावा वातारू र शाखा प्रमुख ओसिताका ओसियामा तथा शिक्षा शाखाका उपप्रमुख केइची यामागुची (नेपाली नाम विकास)समेतको उपस्थिति रहेको थियो ।