Thursday, April 16News That Matters

हलेसी तुवाचुङका विद्यालयमा एसईई मोडलमा परिक्षा सुरु, उत्कृष्ट हुनेलाई २ लाख पुरस्कार

एसईई मोडलमा परिक्षा दिदै विद्यार्थीहरु

खोटाङ, चैत ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका कक्षा ४–९ सम्मको वार्षिक परिक्षा नगरले लिन सुरु गरेको छ । विद्यार्थीको क्षमताको निष्पक्ष मुल्याङकनका लागि नगरको मातहतमा नगर स्तरीय परिक्षा सञ्चालन गरिएको मेयर विमला राईले बताउनुभयो ।

विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परिक्षण गर्दा विद्यार्थीको सही मुल्याङकन हुन नसकेकाले (एसईई) मोडलमा परिक्षा सञ्चालन सुरु गरिएको मेयर राईको भनाइ छ । नगरपालिकाको मातहतमा प्रश्नपत्र तयार पारेर बिहिबारबाट परिक्षा सुरु गरिएको छ । नगरपालिका भित्रका ९० वटा सामुदायिक विद्यालयमध्ये ७० वटा विद्यालयलाई परिक्षा केन्द्र तोकिएको शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । सबै परिक्षा केन्द्रमा फरक विद्यालयका शिक्षकलाई केन्द्र अध्यक्ष बनाएर परिक्षा सञ्चालन भएको उहाँको भनाइ छ ।

नगर स्तरीय परिक्षा सञ्चालन गरिरहेको नगरपालिकाले उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कार प्रदान तथा तोकिए अनुसार नतिजा ल्याउन नसक्ने विद्यालयलाई कारबाही गर्ने निर्णयसमेत गरेको जनाएको छ । विद्यार्थीले ल्याएको अंकको आधारमा प्रथम हुने ६–९ कक्षासम्मका विद्यालयलाई २ लाख नगद दिने नगरपालिकाको निर्णय छ । दोस्रो र तेस्रो हुने विद्यालयलाई ५० हजार र २० हजार नगद प्रदान गरिने छ ।

यस्तै, कक्षा १–५ तर्फ पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ५०, २० र १० हजार नगदले पुरस्कृत गरिने मेयर राईले बताउनुभयो । न्यूनतम १.६ भन्दा कम जिपिए ल्याउने विषयगत शिक्षक तथा विद्यालयलाई नगर शिक्षा ऐन अनुसार कारबाहीसमेत गरिने निर्णय भएको उहाँको भनाइ छ ।

१६ गते परिक्षा समापन पश्चात उत्तरपुस्तिका पनि नगरपालिका कै मातहतमा परिक्षण गरिने मेयर राईले बताउनुभयो । परिक्षा स ञ्चालन भइरहेको विद्यालयमा, मेयर विमला राई, उपमेयर रमेश कुमार राउत, शिक्षा शाखा प्रमुख पदम बहादुर कार्की, सम्बन्धित वडाका वडाध्यक्ष लगायतले अनुगन गरिरहनु भएको छ ।