
राजकुमार भट्टराई (सरगम)
खोटाङ, वैशाख २३ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरीचौकी आमा समहुको जीर्ण भवनबाट सञ्चालन भइरहेको छ । बिगत २६ वर्षदेखि वाप्लुखामा स्थापना भएको प्रहरीचौकीको अहिलेसम्म आफ्नै भवन नभएकोे हो ।
भवन बिहिन भएपछि वाप्लुखाका आमा समुहले प्रहरीचौकीलाई भवन दिएका छन् । तर पुरानो भवन जीर्ण भएपछि अहिले आफ्नै ज्यान जोखिममा राखेर प्रहरीहरु शान्ति सुरक्षा सम्वन्धी कार्यसम्पादन गर्न बाध्य बनेका हुन् । भोजपुर सिमाना भएको खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रभित्र सुरक्षा प्रदान गर्नेगरी वाप्लुखाको कानढाकामा २०५४ सालमा सामान्य भवन निर्माण गरेर प्रहरीचौकी स्थापना गरिएको थियो । शसस्त्र द्धन्द्धको समयमा २०५७ साल चैतमा प्रहरीचौकी जलेर ध्वस्त भएको हो ।
द्धन्द्धको समयमा वाप्लुखाबाट उठेको प्रहरीचौकी २०६८ सालमा पुःर्नस्थापना गरिएको हो । अभिभाबकको छलफल अनुसार वाप्लुखाको महाकन्य विद्यालयलाई पुरानो स्थान भन्दा केही तल पायक पर्ने ठाउँमा सारेपछि विद्यालयको भवन खाली भएको थियो । खाली भएपछि सिर्जनशिल आमा समुहले उक्त भवनलाई प्रयोग गर्दै आएका थिए । पुःर्नस्थापना पश्चात आफ्नै भवन नभएपछि सोही भवनको २ कोठामा प्रहरीचौकी राखिएको छ । १० प्रहरीको दरबन्दी रहेको प्रहरी चौकीमा हाल असइको कमाण्डमा ६ जना प्रहरी छन् ।
भवनको अन्य दुई कोठालाई एउटा बनाएर आमा समुहले कुटानी पिसानी मिल राखेका छन् । मिलको आवाजले प्रहरीको कार्यमा असर गर्दै आएको छ । अझ २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको भवनको कोठाको भित्ता चर्किएर चिराचिरा परेको छ । कोठा साँघुरो र अँध्यारो छ । दिउँसो पनि कोठामा बत्ती बाल्नुपर्ने अवस्था छ । वर्षामा छाना चुहिने समस्या छ । एउटा कोठा चिरा परेर भासिएको छ । प्रहरी राखिएको भवन जुनसुकै बेला ढल्ने खतरा भएको स्थानीय बिष्णुबहादुर बिष्टले बताउनुभयो । हावाहुरीले एक पटक भवनको छाना उडाएको थियो । हाल सोही छानोलाई बाँधेर अड्याएको उहाँको भनाइ छ ।
पुनः भुकम्प गयो भने प्रहरीले स्थानीयलाई जोगाउने भन्दा पनि स्थानीयले प्रहरीलाई जोगाउनु पर्ने अवस्था आउने बिष्टले बताउनुभयो । प्रहरीचौकीको भवन निर्माणका लागि २०७० सालमा ५ रोपनी जग्गा खरिद गरेर पास गरिएको थियो । तीन÷चार वर्षअघि वाप्लुखा अनुगमनमा पुगेको तत्कालिन प्रमुख जिल्ला अधिकारी र डिएसपीको टोलीले उक्त जग्गा भवनका लागि उचित नरहेकाले अन्य जग्गा व्यवस्थापन गर्न सुझाव दिएका थिए ।
सिडिओ र डिएसपीको भनाइ अनुसार तत्काल अन्य उचित स्थान खोजेर ५ रोपनी जग्गा व्यवस्थापन गरिएको वाप्लुखाका वडाध्यक्ष पारस राईले बताउनुभयो । तर हालसम्म भवन बनेको छैन । प्रदेशसम्म पुगेर प्रहरीचौकी भवन निर्माणका लागि बजेट बिनियोजन गर्न माग राख्दा समेत सहयोग नमिलेको वडाध्यक्ष राईको भनाइ छ । वर्षा, भूकम्प जस्ता प्राकृतिक विपत्तीका बेला स्वयं प्रहरी नै दुर्घटनामा पर्ने खतरा छ । गोरखापात्र
