Friday, April 17News That Matters

डढेलो गाउँ पस्दा बराहपोखरीका दुई घर जलेर नष्ट, रावाबेसीको ४ ठाउँमा भीषण डढेलो

डढेलो गाउँ पस्दा जलेर नष्ट भएको बराहपोखरीको एक घर

खोटाङ, वैशाख २७  । खोटाङको बराहापोखरी गाउँपालिका–१ बराहापोखरीमा डढेलो गाउँ पस्दा दुई घर जलेर नष्ट भएका छन् । डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलो गाउँ पसेर डुम्रेवोटे गाउँका दुई घर र तीन गोठ जलेर नष्ट भएको छ ।

दुई घर र तीन गोठ जलेर नष्टहुँदा अन्दाजी २१ लाख ६६ हजार बराबरको क्षति भएको छ । डुम्रेवोटे मान बहादुर राउतको ढुंगामाटोले बनेको दुई तले दुईवटा घर र बाँसको टाँटीले बनेको एकतले एकवटा बाख्राको गोठ जलेको हो । सोही ठाउँका भिम बहादुर दाहालको एकवटा दुईतले गोठसहित काठपात जलेर नष्ट भएको वडाध्यक्ष ढक बहादुर कार्कीले बताउनुभयो । डढेलो तथा आगलागिका कारण मानवीयत तथा चौपायाँमा क्षति पुगेको छैन ।

मंगलबार बिहान बराहापोखरीकै नापेटारको जंगलबाट सुरु भएको डढेलो अपरान्ह ४ बजे घर नजिक पुगेको थियो । स्थानीयको खबर लगत्तै प्रहरी चौकी बराहापोखरी, इलाका प्रहरी कार्यालय चिसापानी र सशस्त्र प्रहरी बल सुरक्षा बेस चिसापानीबाट खटेको टोलीले  राती ११ बजे डढेलो वडाध्यक्ष कार्कीले बताउनुभयो ।

यसैबिच, जिल्लाको अर्को स्थानीय तह रावाबेसी गाउँपालिकामा एकै पटक ४ ठाउँमा डढेलो लागिरहेको छ । वडा नम्बर ३ लामीडाँडाको खोटेजुरेली र झाँक्रीथान सामुदायिक वन, वडा नम्बर ४ डुम्रेधारापानीको कालीका भगवती सामुदायिक वन र वडा नम्बर ५ दुबेकोलको रातामाटा हाँडीखोला सामुदायिक वनमा डढेलो लागिरहेको स्थानीयले बताएका छन् । मंगलबारबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको छ । दुबेकोलको रातामाटा हाँडीखोला सामुदायिक वनमा लागेको डढेलोले केही घरमासमेत क्षति गर्न सक्ने उच्च संभावना रहेको स्थानीयको भनाइ छ ।