Friday, April 17News That Matters

खोटाङमा लम्पी स्किन रोग नियन्त्रण बाहिर, ६० बढी गाईगोरु मरे

लम्पी स्किन रोगले मरेको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम गणेसटारका कृषकको गोरु

राजकुमार भट्टराई (सरगम)

खोटाङ, जेठ १४ । खोटाङमा लम्पी स्किन रोगको महामारी नियन्त्रण बाहिर गएको छ । जिल्लाका १० वटै पालिकामा देखा परेको लम्पी स्किन रोगले हालसम्म ६० बढी गाईगोरुको मृत्यु भएको हो ।

सबै भन्दा धेरै जन्तेढुंगाका गाईगोरु मरेका छन् । जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा ७ वटा, बोपुङमा १२ वटा, काहुलेमा ५ वटा, डम्बर्खुशिवालयमा ४ वटा, चिसापानीमा २ वटा गाईगोरु मरेको पशुशाखा संयोजक डा. शुसन ढकाल ले जानकारी दिनुभयो । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा मरेका गाईगोरुको तथ्यांक आएको छैन ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म करीब २८ गाईगोरु लम्पी स्किन रोगका कारण मृत्यु भएको छ । वडा नम्बर ११ राजापानीमा रणबहादुर श्रेष्ठ, कुम्ब नारायण श्रेष्ठ, मोतीलाल श्रेष्ठ, कृष्ण बहादुर कार्की, बिदुर कार्की, हस्त बहादुर कार्की लगायतको गरी करीब १५ वटा मरेको वडाध्यक्ष अनिश कार्कीले बताउनुभयो । हस्त बहादुरको एउटा गोरु केही दिन अगाडि मात्रै मरेको उहाँको भनाइ छ ।

हलेसी तुवाचुङ कै वडा नम्बर ५ दुर्छिममा करीब १३ वटा गाईगोरु मरेका छन् । शुक्रबार मात्रै दुर्छिम गणेसटारका नविन राईको गोरु मरेको छ । राईकै अर्को गोरु केही दिन अगाडि लम्पी स्किन रोगले मरिसकेको छ । दुर्छिम रातमाटेका चलन सिं राईको एउटा गोरु गत वैशाखमा जोत्दा जोत्दै मरेको स्थानीय राजन राईले बताउनुभयो ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा ५ वटा गाईगोरु मरेका छन् । एउटै वडामा लगातार गाईगोरु मर्न थालेपछि नगरपालिकाको प्राविधिकसँगै वडाले छुट्टै एक जना पशु सेवा प्रविधिकको पनि व्यवस्था गरेर उपचार गरिरहेको वडाध्यक्ष रामबहादुर कट्वालले बताउनुभयो । रावा बेसी गाउँपालिका–२ खार्पामा पनि एउटा गाईको बाछो मरेको पालिकाका पशु सेवा प्राविधिक निरज रावले बताउनुभयो ।

अन्य पालिका केपिलासगढी, खोटेहाङ, बराहपोखरी, ऐसेलुखर्क, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अधिकांश ठाउँका गाईगोरुमा लम्पी स्किन रोग देखा परेको छ । जिल्लाका १० वटै स्थानीय तहका सबै वडाहरुमा लम्पी स्किन रोग महामारीको रुपमा फैलिएको छ । पालिकाहरुले रोग नियन्त्रणका लागि पशु सेवा प्राविधिकहरुलाई खटाइरहेको बताए पनि गाईगोरु मर्ने प्रक्रिया जारी रहेको छ ।

भारतबाट २०७७ सालमा मोरङ हुँदै नेपाल छिरेको लम्पी स्किन रोग हाल देशका ३० बढी जिल्लामा फैलिएको बताइएको छ । बिशेष गरी यो रोग ठुला पशुचौपाय गाई, गोरु, भैंसी, राँगोमा देखा पर्ने विज्ञहरुको भनाइ छ । खोटाङमा भने गाईगोरुमा मात्र देखा परेको छ । अधिकांश गाईगोरुमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने लगायतका लक्षण देखिएपछि कृषकहरु चिन्तित बनेका छन् ।

मोर्डना कम्पनीले लम्पी स्किन रोगको भ्याक्सिन भर्खरै उत्पादन गर्न सुरु गरे पनि त्यसको प्रभाबकारी मापन भइनसकेको बताइएको छ । जिल्लाका अधिकांश पालिकाका पशु सेवा प्राविधिकहरुले लक्षणका आधारमा सशुल्क औषधि दिदै आएका छन् ।

लम्पी स्किन रोग लामखुट्टे, भुसुना, झिंगा आदिको टोकाईबाट सर्ने विज्ञहरु बताउछन् ।