
राजकुमार सरगम
खोटाङ, जेठ १७ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ धोद्रेमा सञ्चालन भएको ७६ लाख ४० हजारको मौरी ब्लकमा ३ घारमा मात्र मौरी छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्र खोटाङको ५० प्रतिशत अनुदानमा सञ्चालित मौरी ब्लक कार्याक्रम सम्झौतामा सिमित देखिएको छ ।
दुई आर्थिक वर्षमा कृषि ज्ञानकेन्द्रबाट मौरी ब्लकका लागि ३८ लाख २० हजार भुक्तानी भएको छ । सेवाग्राहीकोतर्फबाट ५० प्रतिशत जोड्दा ७६ लाख ४० हजारमा मौरी ब्लक कार्यक्रम सम्झौता भएको हो । ऐसेलुखर्क बहुउद्धेश्यीय कृषि वन नर्शरी तथा पशुपालन फर्मबाट सञ्चालन भएको ऐुेलुखर्क मौरी ब्लक विकास समितिको ब्लकमा अहिले ३ घारमा मात्र मौरी छन् । ब्लकमा जम्मा २२ घार राखिएको छ । ३ घारमा मौरीहुँदा अन्य घार खाली छन् । २ वटा घार निर्माण पुरा भएको देखिदैन, १ वटा घार हावाले उडाएर तल्लो गरामा झारेको देखिन्छ ।
मौरी ब्लकका लागि पहिलो वर्ष अर्थात आर्थिक वर्ष २०७७/०७८ मा २५ लाख विनियोजन भएको थियो । २५ लाख सेवाग्राहीले थपेर ५० लाखको ब्लक सञ्चालनका लागि कृषि ज्ञान केन्द्र खोटाङ र मौरी ब्लक विकास समिति बीच सम्झौता पनि भयो । ७ सय मौरीको आधुनिक घार निर्माण गर्ने, सुरुमा करीब १०० घार मौरी लगाउने र विस्तार गर्दै लाने सम्झौता भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । ज्ञान केन्द्रका प्राविधिक अनुगमनमा समेत पुगेका थिए । सम्झौता अनुसार सबै प्रक्रिया पुगेको भन्दै फछ्र्यौट भएर विनियोजित रकम भुक्तानी पनि भयो ।
लगातार अर्को आर्थिक वर्ष २०७८/०७९ मा सोही मोरी ब्लकलाई १३ लाख २० हजार रकम थप भयो । सेवाग्राहीले ५० प्रतिशत थपेर काम गर्ने भन्दै २६ लाख ४० हजारमा ०७८ साल कात्तिक १४ गतेदेखि काम सुरु गर्ने गरी ज्ञान केन्द्रसँग सम्झौता भएको देखिन्छ । थप भएको रकमले १० घार मेलिफेरा र ६० घार सेरेना मौरी लगाउने उल्लेख छ । यसरी हेर्दा दुई आर्थिक वर्षको बजेटले करीब १ सय ७० घार मौरी नै लगाउने र अन्य घारमा सोही मौरी विस्तार गर्दै लानु पर्ने देखिन्छ । तर अहिले मौरी ब्लक क्षेत्रमा ३ घार मात्र मौरी छन् ।
मौरी ब्लक विकास समितिमा १८ जना लाभान्वित जनसंख्या देखाइएको छ । अरुको नाम मात्र देखाइए पनि समितिका अध्यक्ष जीवन राई, सचिव हर्क सुनुवार र कोषाध्यक्ष राम बहादुर राई यस कार्यक्रमका प्रमुख पात्र हुन् । मौरी ब्लक कार्यक्रम सम्बन्धि तीन जनाको छुट्टा छुट्टै कुरा छ । अध्यक्ष जीवन राईको अनुसार २० घार मौरी सुरुमा ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलबाट खरिद गरेर ल्याइएको हो । पछि रामेछापबाट ५० घार मौरी ल्याएको अध्यक्ष राईको भनाइ छ ।
‘बाकाचोलबाट २० घार मौरी ल्याएर ब्लकमा लगाइयो, पछि रामेछापबाट ५० घार ल्याएपछि तीन जनाले बाडेर आ–आफ्नो घरमा लग्ने कुरा भयो । सोही अनुसार जम्मा ल्याइएको ७० घार मौरी तीन जनाले बाडेको हो ।’ अध्यक्ष राईले भन्नुभयो,‘ असारमा लगातार पानी पर्यो मौरी चर्न पाएन चिनि दिदा पनि खाएन र मर्यो, पुषमा जाडोले मर्यो, जेठको समयमा बच्चा कुहिएकाले मौरी भाग्यो । त्यही १०/१२ हजारको मह बिक्री गरियो होला ।’ राईले आफ्नै घर वरीपरी मौरीका घारहरु लगाएको देखिन्छ । घरका ६ घारमा मौरी पनि रहेका छन् । निर्माण गरिएका केही घारहरु एउटा कोठामा थुनेर राखिएको छ ।
ब्लक क्षेत्रमा नराखी मोरी बाडेर लगेका सचिव हर्क सुनुवार र कोषाध्यक्ष रामबहादुर राईको घर वरीपरी पनि करीब ७÷८ घारमा मौरी देखिन्छ । प्राय घारहरु खाली छन्, केही घार बेवारिसे अवस्थामा लडिरहेका छन् । सचिव सुनुवारको छुट्टै दाबी छ, १ सय ४० घार मौरी लगाएकोमा अझै ६० घार मौरी रहेको सुनुवारको भनाइ छ । ‘नजिकै गाउँबाट ५० घार र रामेछापबाट ९० घार मौरी ल्याएर लगाएको हो, रामेछापबाट ल्याएको मौरीमा रोग रहेछ, औषधि गर्दा पनि ठिक नभएर मर्यो, बच्चा कुहिएर भाग्यो । यो ठाउँमा चरणको पनि अभाव भएकाले होला अझै करीब ६० घार मौरी चै हामीसँग छ ।’ सचिव सुनुवारले भन्नुभयो, तर फिल्डमा गएर हेर्दा ब्लक क्षेत्रमा ३ घारमा र तीन जनाकै घरमा गरेर करीब २१/२२ घार मौरी रहेको देखिन्छ ।
कोषाध्यक्ष रामबहादुर राईको पनि छुट्टै दाबी छ, रामेछापबाट १०० घार मौरी ल्याएर लगाएको तर अरुले फलफुलमा बिषाधि प्रयोग गरिदिएकाले आधि मौरी मरेर आधि अहिले पनि रहेको उहाँको भनाइ छ । कती मौरी खरिद गरिएको भनेर तीन जनाकै कुरा मिलेको देखिदैन । अहिले ब्लक क्षेत्रमा मात्र ३ घार मौरी छन् ।
यस सम्बन्धि भिडियो रुपाकोट खबरको फेसबुक पेजमा हेर्न सक्नु हुनेछ ।
