Thursday, April 16News That Matters

खोटाङ सुन्तला पकेट क्षेत्र : ३५ रुपैयाँमा बिरुवा खरिद, १०० को बिल बनाएर फछ्र्योट

फाइल तस्विर

राजकुमार सरगम (भट्टराई)

खोटाङ, असार ३० । खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा सञ्चालित सुन्तला पकेट क्षेत्रमा अनियमितता भएको पाइएको छ । पकेट क्षेत्रको सुन्तलाको बिरुवा खरिदमा अनियमितता भएको पाइएको हो ।

आर्थिक वर्ष २०७९/०८० को प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत लिकुवापोखरी सुन्तला पकेट क्षेत्रलाई ५० प्रतिशत अनुदानमा रु १२ लाख रकम विनियोजन भएको थियो । स्थानीय सयपत्री कृषक समुहबाट सञ्चालन भएको सुन्तला पकेट क्षेत्रको काममा बिरुवा खरिदको बिल बढाएको पाइएको छ । ३५ रुपैयाँ गोटा बिरुवा खरिद गरेर रु १०० को बिल बनाएर कार्यक्रम फछ्र्योट गरिएको पाइएको हो ।

उपभोक्ता समितिले दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाबाट ४ हजार ५०० बिरुवा खरिद गरेर कृषकहरुलाई वितरण गरेको थियो । प्रत्येक बिरुवाको १०० का दरले बिल बनाएर समितिले कार्यक्रम फछ्र्योट गरिसकेको छ । तर सुन्तलाको बिरुवा याम्खास्थित राजेन्द्र राईको कृषि फर्मबाट रु ३५ का दरले खरिद गरिएको खुलेको छ । सुन्तलाको बिरुवा खरिदमा अनियमितता भएको थाहा पाएपछि कृषक बिशोक राईले वडा कार्यालयमा निवेदन दिएका थिए । निवेदन आएपछि वडाध्यक्ष धनबहादुर महाराजी खड्का, वडा सदस्यहरु, वडाका राजनीतिक दलका प्रतिनिधि, सुन्तला पकेट क्षेत्रका उपभोक्ता समितिका पदाधिकारी र कृषकहरु लगायतको उपस्थितिमा असार २८ गते वडा कार्यालयमा छलफलसमेत गरिएको छ ।

छलफलले बिरुवा खरिदमा अनियमितता भएको पुष्टि गरेको छ । बिलमा बढी देखाइएको प्रत्येक बिरुवाको ६५ का दरले २ लाख ९२ हजार ५०० रकम अनियमितता भएको पाइएको हो । उक्त रकम सुन्लता पकेट क्षेत्रमा नै पुनः खर्च गर्ने गरी छलफलमा सहमती भएको वडा कार्यालयले जनाएको छ । तर कसरी खर्च गर्ने भन्ने उल्लेख छैन् ।

सुन्तला पकेट क्षेत्रको कार्यक्रमका सुरु गर्न जेठमा कृषकहरुलाई ५ दिने तालिमको आयोजना गरिएको थियो । सोही तालिममा सहभागि भएका थिए स्थानीय बिशोक राई । ५ दिने तालिम भनेर उपभोक्ता समितिले ३ दिनमै तालिम सकेपछि राईलाई कार्यक्रम प्रति शंका उत्पन्न भएको बताउँछन् । ‘५ दिनको तालिम भनेर बोलाएपछि हामी सबै गयौँ, ३ दिनमै तालिम सकियो । तर कुन मितिमा सकियो भनेर तालिमको मिति नराखि हस्ताक्षर गराउन लगाइयो । मैले मिति नराखी हस्ताक्षर गर्न मानिन त्यसपछि मिति राखियो ।’ राईले भने, ‘त्यहाँदेखि मलाई कार्यक्रम प्रति शंका लागेको थियो, के कसरी खर्च हुन्छ भनेर सार्वजनिक सुनुवाइमा सुन्नु पर्ला भनेको थिएँ, तर सार्वजनिक सुनुवाइ नगरी वडाबाट बिल मिलाएर कार्यक्रम फछ्र्योट गरिसकिएछ ।’

कार्यक्रमको सार्वजनिक सुनुवाइ किन नगरेको भनेर प्रश्न गर्दा आफुहरुलाई त्यस्तो गर्नु पर्छ भनेर थाहा भएन भन्ने जवाफ उपभोक्ता समितिका सचिव तिलक महाराजीले दिएको राईको भनाइ छ । त्यसपछि राईले सचिव महाराजीसँग बुझ्दा बिरुवा १०० रुपैयाँ गोटाले खरिद गरेको थाहा पाए । बिरुवा बिक्री गर्ने ब्यक्ति याम्खाका राजेन्द्र राईसँग बुझ्दा ३५ रुपैयाँले लगेको भनेपछि वडा कार्यालयमा निवेदन दिएको बिशोक राई बताउँछन् ।

लिकुवापोखरीस्थित विणा माध्यामिक विद्यालयका कार्यालय सहयोगीसमेत रहेका सिताराम माहाराजी सुन्तला पकेट क्षेत्र उपभोक्ता समितिका अध्यक्ष हुन् । बिरुवा खरिदको बिल बढाएको स्विकार गर्दै उक्त रकम समितिमा रहेको र सुन्तला पकेट क्षेत्रमै खर्च गरिने उनको भनाइ छ ।

हेर्नुहोस् वडामा भएको छलफलको विषय