Thursday, April 16News That Matters

दिक्तेल रुपाकोटले सबै प्रधानाध्यापकलाई हटायो, विज्ञापन गरेर प्रतिस्पर्धाबाट नियुक्त गर्ने


राजकुमार सरगम (भट्टराई)
खोटाङ, साउन ८ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर भित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई हटाएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले सबै तहका विद्यालयका प्रधानाध्यापकलाई हटाएर विज्ञापन गरी प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको हो ।

संघीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन सम्बन्धि कार्यविधिले व्यवस्था गरे बमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय कार्यापालिकाले गरेको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । कार्यापालिकाको निर्णय अनुसार हाल कार्यरत रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको आइतबारबाट म्याद समाप्त भएको छ । विज्ञापन गरेर पुनः प्रधानाध्यापक नियुक्त नभएसम्म हालका प्रधानाध्यापकलाई निमित्त दिएर कामकाज गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

प्रधानाध्यापक नियुक्ति सम्बन्धि नगरपालिकाले कार्यविधि निर्माण गरेको छ । सोही कार्यविधि अनुसार विद्यालयमा प्रधानाध्यापक नियुक्त गरिने मेयर तीर्थराज भट्टराईले बताउनुभयो । ‘आइतबार बसेको कार्यपालिकाको निर्णय अनुसार हालका प्रधानाध्यापकहरु हटिसक्नु भएको छ । अब सोही अनुसार उहाँहरुलाई नगरपालिकाले पत्र पठाउने छ । त्यसपछि उहाँहरुले निमित्त भएर कामकाज गर्नुहुने छ ।’ मेयर भट्टराईले भन्नुभयो, ‘संघीय शिक्षा ऐन, हाम्रो नगरपालिकाको शिक्षा ऐनले नै ५÷५ वर्षमा परिक्षा लिएर प्रधानाध्यापक नियुक्त गर्ने उल्लेख गरेको छ । हामीले यस सम्बन्धि कार्यपालिकाको बैठकले कार्यविधि नै पास गरिसेका छौँ ।’

साउन १५ गतेसम्मको लागि सबै विद्यालयहरु बन्द छन् । विद्यालय सञ्चालन भएपश्चात नगरपालिकाले प्रधानाध्यापक हुन इच्छुकको लागि विज्ञापन गर्ने छ । विज्ञापन अनुसार योग्यता पुगेका शिक्षकहरुलाई खुला प्रतिस्पर्धाबाट कार्यविधि र दुवै शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्त गरिने मेयर भट्टराईले बताउनुभयो ।

कतीपय ठाउँमा प्रधानाध्यापक नियुत्तिको विषयमा विवाद आइरहदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षा ऐन अनुसार कार्यविधि निर्माण गरेर खुला प्रतिस्पर्धा अनुसार प्रधानाध्यापक नियुत्त गर्न लागेको हो । सोही प्रक्रिया अनुसार केही समय अगाडी भक्तपुरको सुर्यविनायक नगरपालिकाले प्रधानाध्यापक नियुक्त गरेको छ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले प्रधानाध्यापक नियुक्तिको लागि सूचना निकालेको छ । हालसम्म कोशी प्रदेशका कुनै पनि स्थानीय तहले यसरी शिक्षा ऐनलाई टेकेर कार्यविधि निर्माण गरेर प्रधानाध्यापक नियुक्ति गरेका छैनन् ।

गफ मात्र गरेर शिक्षामा गुणस्रत नआउने भएकाले नगरपालिकाले शिक्षा ऐनमा टेकेर अगाडी बढेको सामाजिक विकास शाखा प्रमुख दानबहादुर राईले बताउनुभयो । ‘अहिलेसम्म शिक्षामा गुणस्तर ल्याउने भन्ने गफ मात्र भयो सबैको, काम कोहीबाट पनि भएन । विभिन्न ऐनहरु नियमहरु बन्छन् तर कार्यन्वयनमा आउदैनन् । त्यसैले बनेको ऐनलाई टेकेर योग्यता पुगेका शिक्षकलाई प्रधानाध्यापक बनाउदा शिक्षामा गुणस्तर आउने विश्वासले हामीले यो प्रक्रिया अगाडी बढाएका हौँ ।’ सामाजिक विकास शाखा प्रमुख राईले भन्नुभयो ।

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै देशका प्राय स्थानीय तहका विद्यालयहरुमा शिक्षा ऐन अनुसार केही विद्यालयमा मात्र प्रधानाध्यापक रहेको छन् । त्यसैले दिक्तेल रुपाकोट मझुवागढीले योग्यता पुगेका शिक्षकलाई कार्यविधि निर्माण गरेर प्रधानाध्यापक बनाउन लागेको विषय सकारात्मक रहेको नेपाल शिक्षक संघका संघीय सदस्य शिवहरी ढकालले बताउनुभयो ।

विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन गर्दा योग्यता भएका शिक्षक हुनु पर्ने माग नेपाल शिक्षक महासंघले राख्दै आएको महासंघ खोटाङका अध्यक्ष मिनबहादुर दाहालले बताउनुभयो । सोही माग अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन गर्न लाग्नु सकारात्मक रहेको उहाँको भनाइ छ । क्षमतावान ब्यक्तिले नेतृत्व गर्दा विद्यालयको पठनपाठनमा गुणस्तर कायम हुने उहाँले बताउनुभयो । प्रधानाध्यापक छनोट गर्दा नगरपालिकाले कार्यविधि अनुसार निष्पक्ष काम गर्नु पर्ने उहाँको माग छ ।

नगरपालिकाले गरेको यो निर्णयले शिक्षा क्षेत्र एक फड्को माथी निस्केको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको बुझाइ छ । खुला प्रतिस्पर्धाबाट ऐन एवं कार्यविधि अनुसार प्रधानाध्यापक नियुक्ति गर्ने विषयले शिक्षा क्षेत्रमा हुने राजनीति केही हदसम्म हटेको र यसले गुणस्तीय शिक्षा प्रदानमा ठुलो टेवा पुग्ने दिक्तेलस्थित सरस्वती आधारभुत विद्यालयका वि.व्य.स अध्यक्ष अजय बस्नेतको भनाइ छ ।

हेर्नुहोस् नगर कार्यपालिकाको निर्णय