Saturday, July 27News That Matters

त्रि–धार्मिकस्थल हलेसीमा एक वर्षमा १ करोड २६ लाख भेटी संकलन

साउनको तेस्रो सोमबार हलेसीमा लागेको दर्शनार्थीको घुइँचो, फोटो : राजकुमार भट्टराई

खोटाङ, साउन २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको विश्वकै प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसीमा एक वर्षमा १ करोड बढी भेटी संकलन भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा हलेसी मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट १ करोड २६ लाख ४४ हजार ८ सय ९७ भेटी संकलन भएको हलेसी विकास समितिले जनाएको छ ।

संकलन भएको भेटीमध्ये ६३ लाख १२ हजार ९ सय ९२ रुपैयाँ खर्च भएको बताइएको छ । मन्दिर व्यवस्थापन, कर्मचारी तथा पुँजारीलाई तलव लगायतमा उक्त रकम खर्च भएको विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । बाकी रहेको ६३ लाख ३१ हजार ९ सय ४ रुपैयाँ पैसा समितिको बैंक खातामा जम्मा भएको उहाँको भनाइ छ । यस्तै, एक वर्षमा मन्दिरमा करीब डेढ तोला सुन, १२५ तोला चाँदी दर्शनार्थीले चडाएका छन् । ३ लाख २६ हजार ९९ भारु, २१३ अमेरिकन डलर, १९८ मलेसियन पैसा, १४० हंकङ डलर, ६ कतारी रियाल, १ साउदी रियल र ९१ सिंगापुरे डलर रकम पनि भेटीमा जम्मा भएको छ ।

मेला लागेको समयमा मेला सकिए पश्चात र अन्य समयम १५ दिन वा महिनामा १ पटक भेटी गणना हुने गरेको छ । हलेसी विकास समिति, प्रहरी प्रशासन, नगरपालिका, गुठीका प्रतिनिधि लगायतको उपस्थितिमा सिसिक्यामेरा जडान गरिएको ठाउँमा भेटी गणना हुने गरेको भुजेलले बताउनुभयो । हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । अन्य समयमा पनि प्राय दैनिकरुपमा दर्शनार्थीहरु हलेसी मन्दिरको दर्शन गर्न तथा अवलोकन गर्न आउने गरेका छन् ।

धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन् । हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथको रूपमा, बौद्ध धर्मावलम्बीहरू दोस्रो लुम्बिनीको रूपमा र किरात धर्मावलम्बीहरूले आदिम भूमिको रूपमा पूजाआजा गर्ने गरेका छन् । हलेसी क्षेत्रमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफा लगायतका धार्मिकस्थलमा दर्शनार्थीको भिड लाग्ने गर्छ ।

अहिले साउनका प्रत्यके सोमबार लाग्ने ‘बोलबम’ मेलामा ५ हजार बढी दर्शनार्थीहरु हलेसी आउने गरेका छन् । नेपालका विभिन्न जिल्ला विशेषगरी तराइका जिल्ला, भारत, चिन, बंगलादेश, भुटान, श्रीलंका लगायतका देशबाट दर्शनार्थीहरु विभिन्न नदीबाट ल्याइएका जल चढाउन एवं दर्शन गर्न आइरहेका छन् ।

प्रत्येक सोमबार ‘बोलबम’ शब्द उच्चारण गर्दै दर्शन गर्न आएका गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागिरहेको छ । हलेसी क्षेत्रका होटलहरु प्राय सबै भरिभराउ हुने गरेका छन् । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने गर्छन् । विश्व प्रसिद्ध हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहित महिलाले असल श्रीमान पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ ।

साउनको सोमबार पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकांक्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ । साउनको प्रत्येक सोमबार हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङ्गको पहिरनमा सजिएका महिला र पुरुषको घुइँचो लाग्ने गरेको छ ।

हलेसीको बारेमा रुपाकोट खबरले तयार पारेको रिपोर्ट, हेरौँ एक पटक

Leave a Reply

Your email address will not be published. Required fields are marked *