
राजकुमार सरगम (भट्टराई)
खोटाङ, साउन २५ । खोटाङको एक विद्यालयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापारबाहीको कारण विद्यार्थी जीर्ण भवनमामा बसेर अध्ययन गर्न बाध्य भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदिस्थित पत्करु आधारभूत विद्यालयमा नयाँ भवन बने पनि पुरानै भवनमा विद्यार्थीलाई राखिएको पाइएको छ ।
कक्षा ८ सम्म पठनपाठन भइरहेको उक्त विद्यालयको २–५ कक्षा सम्मका विद्यार्थीहरु जीर्ण भवनमा बसेर अध्ययन गरिरहेका छन् । कक्षा ५ पठनपाठन हुने कोठाको झ्याल मक्किएर भत्किएको छ । झ्याल भत्किएर जीर्ण अवस्थामा रहेको कोठाभित्र विद्यार्थी अध्ययन गरिरहेको दृश्य केही दिन यता सामाजिक सञ्जालमा चर्चित भएको छ । उक्त तस्विर सोही विद्यालयमा कार्यरत शिक्षक प्रकाशमान तामाङले लगाएका हुन् । तस्विर हेर्दा जुनसुकै समयमा भवन पुरै भत्किन सक्ने देखिन्छ । निर्माण भएको करीब १५ वर्ष भएको उक्त भवनको झ्याल गत असारमा मक्किएर भत्किएको विद्यालयका प्रधानाध्यापक देशकुमार राईले बताउनुभयो ।

विद्यालयको ३ कोठे नयाँ भवन केही वर्ष अघि निर्माण सम्पन्न भएको छ । अर्को ४ कोठे नयाँ भवन निर्माणधिन अवस्थामा छ । नयाँ बन्दै गरेको भवनको सामान त्यस भवनमा राखिएकाले विद्यार्थीहरु पुरानै भवनमा रहेको प्रधानाध्यापक राईको भनाइ छ । बनिसकेको र हाल बन्दै गरेको भवन अहिले भएको विद्यालय भन्दा थोरै टाढा रहेकाले निर्माण सम्पन्न भएपछि एकैचोटी विद्यार्थी सार्ने योजना रहेको उहाँको भनाइ छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रपति शैक्षिक सुधारको रु ३६ लाख रकमबाट ४ कोठे भवन निर्माणधिन छ । भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराम राईले जिम्मा लिएको प्रधनाध्यापक राईको भनाइ छ । तर असार मसान्तमा निर्माण सम्पन्न हुनु पर्ने भवन अहिलेसम्म सकिएको छैन् । एउटा भवन समयमै सम्पन्न नगर्नु र अर्को बनिसकेको भवनमा सामान राख्नु विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको ठुलो लापारबाही देखिन्छ । निरन्तर वर्षा भइरहेकाले हाल विद्यार्थीलाई राखिएको भवन अत्यन्त जीर्णहुँदा विद्यार्थीको ज्यान जोखिममा देखिन्छ ।

वि.स २०२० सालमा स्थापना भएको पत्करु आधारभूत विद्यालय हाल ८ कक्षासम्म सञ्चालन भइरहेको छ । १ सय १५ जना विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा ६ जना शिक्षक र १ जना कार्यालय सहयोगी कार्यरत छन् । भत्किएको भवनभित्र विद्यार्थी अध्ययन गरिरहेको तस्विर सामाजिक सञ्जालमा चर्चित भएपछि केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईसहितको टोली बिहिबार अनुगमन गर्न गएको बुझिएको छ ।

