
खोटाङ, भदौ २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघले एकै दिन तीन वटा पशुचौपाया मारेको छ । बुधबार जंगलबाट चराएर घर फर्काउदै गर्दा बाटैमा बाघले तीन पशुचौपाया मारेको हो ।
राजापानीको साविक ७ नम्बर वडा आहालेका फडिन्द्र कट्वालको दुई वटा बाख्रा र सुबास कार्कीको एउटा गाई मारेको हो । स्थानीय टुर्सीउ जंगलबाट चरेर फर्किदा बाटैमा तीन वटै पशुचौपाया मारेको स्थानीय सुबास कार्कीले बताए । बाख्राको केही भाग खाएर गाई खादै गर्दा कार्की लगायतले बाघलाई भेटेका थिए । गाई मारेर खादै गरेको बाघले मान्छेलाईसमेत आक्रमण गरेको कार्कीले बताए । तर चार जना भएकाले बाघले मान्छेलाई केही गर्न नसकेको उनको भनाइ छ ।
बाघ गत राती गाउँभित्रै पसेको थियो । गाउँमा केही बिगार नगरेको बाघले जंगलबाट गाउँ फर्किदा बाटोमा पशुचौपाया मारेको छ । जसकारण अहिले स्थानीयमा क्रास बढेको कार्कीले बताए । यश अघि पनि बेलाबेलामा बाघले उक्त गाउँका पशुचौपायाहरु मार्ने गरेको थियो ।