
राजकुमार सरगम (भट्टराई)
खोटाङ, भदौ २२ गते । उपचार खर्च अभावहुँदा खोटाङकी १७ वर्षीया हेमा राईको मृत्यु भएको छ । बिरामी भएकी हेमालाई दुई वर्ष अगाडी परिवारले अस्पताल लादा एउटा मिर्गौला फेल भएको रिपोर्ट आएको थियो । पछि उनको दुवै मिर्गौला फेल भएपछि बिहिबार निधन भएको हो ।
दुई वर्ष अगाडी एउटा मिर्गौला फेल भएको थाहा भएपछि अस्पतालले परिवारलाई उपचारका लागि आर्थिक संकलन गर्न सुझाव दिएको थियो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडा घर भइ हाल भक्तपुर बस्दै आएका हेमाको परिवारले आर्थिक संकलन गर्न सकेनन् । बुवा ओम बहादुर र आमा तुलसाले उपचारका लागि रकम संकलन गर्न नसक्दा अन्ततः छोरी हेमा सधाका लागि बिदा भएकी छिन् ।
कक्षा ९ मा अध्ययन गरिरहेकी हेमा एउटा मृगौला फेल भएपछि पुनः विद्यालय जान सकिनन् । सामान्य औषधि खाएर घरमै बसिरहेकी हेमाको अर्को पनि मिर्गौला फेल भयो । परिवारले उपचार खर्च जुटाउन नसक्दा मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोरहुँदा १७ वर्षीया हेमाले अकालमै ज्यान गुमानु परेको छ ।
परिवारले खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरिएको भए पनि हेमालाई बचाउन सकिने थियो । तर चेतनाको अभावले परिवारले सहयोगको याचना नगरेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राई बताउनुहुन्छ । ‘उनिहरु करीब १२÷१३ वर्ष अगाडीदेखि भक्तपुरमा बस्दै आएका थिए । छोरीको मिर्गौलामा समस्या भएको छ भन्ने सामान्य सुनेका थियौँ । तर मिर्गौला फेल भएर उपचार गर्ने खर्च नै अभाव भयो भन्ने कुरा हामीलाई थाहा भएन । नत्र सहयोग संकलन गरेर बचाउन सकिन्थ्यो ।’ वडाध्यक्ष राईले भन्नुभयो, ‘अन्तिम अवस्थामा मात्रै हामीलाई थाहा भयो, जुन बेला हेमालाई बचाउन सक्ने अवस्था नै रहेनछ ।’
दुई वर्षको अन्तरालमा दुवै मिर्गौलाले काम गर्न छाडेपछि मिर्गौला प्रात्यारोपण गर्नु पर्ने थियो । तर आवश्यक रकम नहुँदा हेमाले १७ वर्षमै ज्यान गुमाउनु परेको छ । दुवै मिर्गौलाले काम गर्न छाडेर सिकिस्त भएकी हेमालाई परिवारले मंगलबार काठमाडौं मेडिकल कलेज (फअ) मा भर्ना गरेको थियो । अस्पताल भर्ना भएको तीन दिनमा बिहिबार दिउँसो उनको निधन भएको छ ।
मृतक हेमाको दुई भाइहरु रहेका छन् । बुवा ओम बहादुर र आमा तुलसा दैनिक ज्यालादारी मजदुर हुन्् । केही वर्ष अगाडी ओम बहादुर बैदेसिक रोजगारीको शिलशिलामा बिदेशसमेत गएका थिए । तर कमाइ राम्रो नभएपछि नेपाल फर्किएका हुन् । भक्तपुरमा डेरामा बस्दै आएका ओमबहादुरको बाहुनीडाँडामा सामान्य बाँझो जग्गा छ ।