Saturday, July 27News That Matters

जीर्ण भवनमा ज्यामिरे स्वास्थ्य चौकी, नयाँ भवन हाँसेको हाँसै

ज्यामिरे स्वास्थ्य चौकीको बायाँबाट क्रसम भित्र चिाराचिरा भएको भाग, पुरानो जीर्ण भवन र सञ्चालनमा नआएको नयाँ भवन

खोटाङ, भदौ २९ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको छ । लामो समयदेखि निर्माणधिन नयाँ भवन सञ्चालनमा नआउदा स्वास्थ्यकर्मीहरु पुरानै जीर्ण भवनबाट स्वास्थ्य सेवा दिन बाध्य भएका छन् ।

हाल स्वास्थ्य चौकी सञ्चालन भइरहेको भवन अत्यन्तै जीर्ण छ । ढुंगा र माटोको पुरानो भवनको बाहिरी सबै भागहरु चर्किएका छन् । भवनको भित्र ढलान गरिएको भएपनि फुटेर पुरै चिराचिरा भएको छ । जोखिम मोलेर बाध्यताले उक्त जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव तेज बहादुर राईको भनाइ छ । ‘औषधी लयातको सामान राख्ने ठाउँ, बिरामी जाँच गर्ने ठाउँ र प्रशासन सञ्चालन सबै एउटै कोठामा छ । त्यही पनि भवन जीर्ण भएर कुन बेला भत्किन्छ टुंगो छैन् ।’ अहेव राईले बताए । बर्थिङ सेन्टरका लागि छुट्टै सानो २ कोठाको भवन छ । जसकारण प्रसूति गराउन समस्या नरहेको उनको भनाइ छ ।

जीर्ण भवनको चिराचिरा भएको भित्री भाग

ज्यामिरे स्वास्थ्य चौकीको भवन पुरानो भएकाले नयाँ निर्माण गर्न आर्थिक वर्ष २०७५/०७६ मा ऐसेलुखर्क गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको थियो । बजेट अभाव भएपछि पुनः अर्को आर्थिक वर्षमा गाउँपालिकाले रु ९ लाख बजेट थप गरेर एक तलाको तीन कोटे पक्की भवन निर्माण भएको हो । तर भवन निर्माण भएपनि फिनिसिङ नहुँदा अहिलेसम्म सञ्चालनमा आएको छैन् ।

अघिल्लो आर्थिक वर्षमा रु १ लाख ५० हजार वडाबाट बजेट विनियोजन गरेर केही काम भएको वडाध्यक्ष एवं स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष सुनिल राईको भनाइ छ । शौचालय फिनिसिङ, विद्युत जडान, पाइप लाइन लगायतको काम अझै बाकी छ । चालु आर्थिक वर्ष ०८०/८१ म वडा कार्यालयले रु २ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट काम सम्पन्न गरेर केही समय भित्र स्वास्थ्य चौकीको भवन सञ्चालनमा ल्याउने वडाध्यक्ष राईले बताए ।

करीब ५ वर्षमा पनि सम्पन्न हुन नसकेको तीन कोठे भवन स्वास्थ्य चौकीको लागि मापदण्ड अनुसारको छैन् । उक्त भवन सञ्चालनमा आएपछि स्वास्थ्य सेवा प्रवाहमा केही सहजता भए पनि बर्थिङ सेन्टर छुट्टै भवनमा यथावत राख्नु पर्ने बाध्यता हुनेछ ।

सञ्चालनमा नआएको नयाँ भवन