
खोटाङ, असोज १४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरेको छ । नगरपालिकाले गत साउनबाट खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक छनोट गर्ने प्रक्रिया सुरु गरेको थियो ।
साउन ७ गते बसेको नगर कार्यपालिकाको बैठकले सबै तहका विद्यालयका प्रधानाध्यापकलाई हटाएर विज्ञापन गरी प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको थियो । संघीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन सम्बन्धि कार्यविधिले व्यवस्था गरे बमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको नगरपालिकाले साउन ३१ गते सूचना निकालेको थियो ।
नगरपालिकाले प्रकाशन गरेको सूचना अनुसार ६१ जनाले प्रधानाध्यापकको लागि आवेदन दिएको नगर शिक्षा शाखा प्रमुख तीर्थराज विश्वकर्माले बताउनुभयो । असोज ८ गते नगरपालिकाले लिएको प्रधनाध्यापकको परिक्षामा ५० जना शिक्षक उत्तीर्ण भएका छन् । ११ जना शिक्षक भने परिक्षामा उत्तीर्ण हुन नसकेको शाखा प्रमुख विश्वकर्माको भनाइ छ । प्रधानाध्यापक भएर विद्यालयको कामकाज गरिरहेका कतीपय शिक्षक परिक्षामा अनुत्तीर्ण भएका छन् ।
माध्यमिक विद्यालयमा २३ जना सहभागी परिक्षामा १७ जना उत्तीर्ण, १–८ आधारभूत विद्यालयमा ८ जना सहभागीहुँदा ५ जना उत्तीर्ण र १–५ आधारभूत विद्यालयमा ३० जना शिक्षक परिक्षामा सहभागीहुँदा २८ जना उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ ।
नगरपालिकाको प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि, २०८० मा उल्लेख भए अनुसार २ जना विषयविज्ञ विष्णु ज्ञावली र डा. तोयानाथ खनालले परिक्षा सञ्चालन गर्नुभएको थियो । शैक्षिक योग्यता बापत १५ अंक, शिक्षण अनुभव बापत १० अंक, ज्येष्ठता बापत ४ अंक, तामिल बापत ८ अंक, अध्यापन गरेको विषयमा प्राप्त नतिजामा ३ अंक, विद्यालय विकास प्रस्तावको मुल्यांकनमा २५ अंक, नेतृत्व लिने क्षमतामा १० अंक, लिखित परिक्षामा १५ अंक र अन्तरवार्तामा १० अंक गरी कुल १०० पूर्णाङ्कको परिक्षा सञ्चालन भएको थियो ।
माध्यमिक तहको विद्यालयको प्रधानाध्यापक हुनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उतीर्ण गरेको वा शिक्षकको रुपमा १० वर्ष स्थायी सेवा अवधि पुरा भई स्नातक तह वा सो सरह उतीर्ण गरेको हुनु पर्ने आवेदनमा भनिएको थियो । यस्तै माध्यमिक तथा निम्न माध्यमिक तहको शिक्षक पदमा १ वर्ष स्थायी सेवा अवधि पुरा गरेको र प्राथमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पुरा भएको हुनु पर्ने सूचनामा उल्लेख थियो ।
यस्तै, आधारभूत तह कक्षा (१–८) को लागि प्रधानाध्यापक हुन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको, निम्न माध्यमिक तहको शिक्षक पदमा १ वर्ष स्थायी सेवा अवधि पुरा गरेको र प्राथमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पुरा भएको हुनु पर्ने भनिएको थियो ।
यस्तै, आधारभूत तह कक्षा (१–५) को लागि प्रधानाध्यापक हुन मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह÷कक्षा १२ सो सरह उत्तीर्ण गरेको, प्राथमिक तहको शिक्षक पदमा कम्तीमा १ वर्ष स्थायी सेवा अवधि पुरा गरेको हुनु पर्ने सूचनामा उल्लेख गरिएको थियो ।
प्रक्रिया पुरा गरी आएर परिक्षामा उतीर्ण भएका शिक्षकलाई सम्बन्धित विद्यालयको प्रधानाध्यापकमा नियुक्ति दिने नगरपालिकाको तयारी छ । केही विद्यालयका २ जना शिक्षक प्रधानाध्यापकमा सफल भएकोहुँदा कार्यविधि अनुसार एक जनालाई सोही विद्यालय र अर्का शिक्षकलाई अन्य पायक पर्ने विद्यालयको प्रधानाध्यापकको जिम्मा दिइने बताइएको छ ।
नगरपालिका भरीका विद्यालय संख्या अनुसार शिक्षकहरु प्रधानाध्यापकमा उत्तीर्ण भएका छैनन् । जसकारण कार्यविधि अनुसार केही विद्यालयमा तत्कालका लागि निमित्त प्रधानाध्यापक दिएर कामकाज गर्ने नगरपालिकाले जनाएको छ । केही समय पश्चात पुनः परिक्षा गर्ने नगरपालिकाको तयारी छ ।
संघीय शिक्षा ऐन, नगरपालिकाको शिक्षा ऐनले दिएको नियम अनुसार खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । ‘संघीय शिक्षा ऐन, हाम्रो नगरपालिकाको शिक्षा ऐनले नै ५÷५ वर्षमा परिक्षा लिएर प्रधानाध्यापक नियुक्त गर्ने उल्लेख गरेको छ । हामीले यस सम्बन्धि कार्यपालिकाको बैठकले कार्यविधि नै पास गरेर काम गरेका छौँ ।’ मेयर भट्टराईले भन्नुभयो, ‘यसरी खुला प्रतिस्पर्धाबाट आएका प्रधानाध्यापकले विद्यालयको शैक्षिक गुणस्तरलाई माथि ल्याउने छन् भन्नेमा हामी विश्वस्त छौँ ।’
कतीपय ठाउँमा प्रधानाध्यापक नियुत्तिको विषयमा विवाद आइरहदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षा ऐन अनुसार कार्यविधि निर्माण गरेर खुला प्रतिस्पर्धा अनुसार प्रधानाध्यापक छनोट गरेको हो । सोही प्रक्रिया अनुसार केही समय अगाडी भक्तपुरको सुर्यविनायक नगरपालिकाले प्रधानाध्यापक नियुक्त गरेको थियो । हालसम्म कोशी प्रदेशका कुनै पनि स्थानीय तहले यसरी शिक्षा ऐनलाई टेकेर कार्यविधि निर्माण गरेर प्रधानाध्यापक नियुक्ति गरेका छैनन् ।
प्रधानाध्यापकमा छनोट भएका शिक्षकहरु यस प्रकार छन् ।





