
खोटाङ, असोज २४ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित राधा बन्जरा तिम्सिनालाई चेस्ट ट्युमर रोगले सताएको पाँच वर्ष चयो । दुई पटक अप्रेसन गरे पनि ट्युमर पूर्णरुपमा ठिक नभएपछि परिवार आर्थिक संकटमा परेको छ ।
श्रीमान चन्द्र शेखर तिम्सिना पनि अशक्त छन् । ब्रेनमा समस्याहुँदा बेहोस जस्तै अवस्थामा श्रीमान रहेका छन् । यता श्रीमती राधाको दुई चोटी सम्म जग्गा जमिन बिक्री गरेर अप्रेसन गराईएको थियो । तर अहिले पुनः रोग बल्झिएपछि परिवार थप पिडामा पुगेको छ । ट्युमरको अप्रेसन गर्न आर्थिक अभाव भएकाले सहयोगको अपिल गरिएको छ । उपचारका लागि स्थानीय युवाहरुले आर्थिक संकलन अभियानसमेत सुरु गरेका छन् । हालसम्म केही आर्थिक जम्मा भएको स्थानीय आशिस बन्जराले बताए ।
हाल राधालाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा राखिएको छ । अस्पतालमा राधासँगै उनका छोरा छन् । उनि बुवालाई अस्पतालबाट घर ल्याएर आमालाई पुनः अस्पताल लिएर गएका हुन् । एक जना छोरा भने केही समय अघि मात्र रोजगारीको शिलशिलामा परदेश गएका छन् । कान्छा छोरा घरमा बेहोस बुवासँग छन् ।
राधाको परिवारलाई आर्थिक सहयोग गर्न चाहानेले स्थानीय डिल्ली नारायण श्रेष्ठको लक्ष्मि सनराइज बैंक बराहपोखरी शाखामा रहेको ०९४०५५९३१२२०५००१ नम्बरको खातामा जम्मा गर्न वा ९८६२९८७४२९ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ । शिक्षकसमेत रहेका श्रेष्ठ र पशु प्राविधिक आशिस लगायतको समुहले आर्थिक संकलन अभियान सञ्चालन गरिरहेका हुन् ।
