
खोटाङ, असोज २४ । खोटाङमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालु खोलामा डुबेर सोही ठाउँका अन्दाजी ५० वर्षका डिक कुमार राईको मृत्यु भएको हो ।
घर नजिकै रहेको खोलामा डुबेर मृत्यु भइसकेको अवस्थामा राई फेला परेका थिए । बुधबार बिहान करीब ९ बजे मृतक अवस्थामा फेला परेका राईको जिल्ला अस्पतालमा पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक टिरा बरालले जानकारी दिनुभयो ।
मृतक राईले मद्यपान अत्याधिक सेवन गर्ने गरेका थिए । मद्यपान सेवन गरेको बेला खोलामा पसेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपी यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बरालले बताउनुभयो । श्रीमतीसँग छोडपत्र गरेका राई लामो समयदेखि डिप्रेशनको बिरामी रहेको बताइएको छ ।
