Friday, April 17News That Matters

हलेसी तुवाचुङका शिक्षकको तलब मासिकरुपमा सम्बन्धित व्यक्तिको बैंक खातामा

हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय

खोटाङ, असोज २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकको तलब बैंक खाताबाट प्रदान गर्न सुरु गरेको छ । यसअघि विद्यालयको खातामा जम्मा गरिने शिक्षक र अन्य कर्मचारीको तलब सम्बन्धित व्यक्तिकै खातामा जम्मा गर्न सुरु गरेको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ लाई शैक्षिक सुधार र पूर्वधार विकास वर्षकोरुपमा लिएको नगरपालिकाले विद्यालय र शिक्षकहरुको सहजताका लागि सम्बन्धित व्यक्तिकै खातामा तलब जम्मा गर्न सुरु गरेको नगरपालिकाका सामाजिक विकास समिति संयोजक रुद्रकुमार राईले बताउनुभयो । नगरपालिका भरिका सबै शिक्षक तथा कर्मचारीको साउन, भदौ र असोज महिनाको तलब खातामा जम्मा गरिसकेको उहाँको भनाइ छ ।

नगरपालिका भरिका ९० वटा सामुदायिक विद्यालयका ५०० शिक्षक तथा कर्मचारीको सिधै खातामा तलब पुगिसकेको नगर शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताउनुभयो । माध्यमिक शिक्षक ५० जना, निम्नमाध्यमिक शिक्षक ३९ जना, प्राथमिक शिक्षक २१२ जना, प्राविधिक शिक्षा प्रशिक्षक ९ जना, नगर शिक्षक १५ जना, शिक्षण सिकाइ अनुदान १७ जना, बालविकास सहजकर्ता ५६ जना, लेखा कर्मचारी १२ जना र कार्यालय सहयोगी ९० जना नगरपालिकामा कार्यरत रहेका शिक्षा शाखा संयोजक कार्कीले बताउनुभयो ।

हालसम्म शिक्षकहरुलाई ३/३ महिनामा तलब दिने गरिएको थियो । सम्बन्धित व्यक्तिकै खातामा जम्मा गर्न सुरु भएपछि अब प्रत्येक महिना शिक्षकलाई तलब प्रदान गरिने नगरपालिकाका लेखा शाखा प्रमुख भिम ढकालले बताउनुभयो । नगरपालिकाले सिधै शिक्षकको खातामा तलब प्रदान गर्न सुरुवात गर्दा केही कठिन भएको थियो । आगामि दिनमा कुनै समस्या नरहेकाले प्रत्येक महिना तलब खातामा जम्मा गरिदिने ढकलाको भनाइ छ ।

विद्यालयको खातामा जम्मा हुने रकम सम्बन्धित शिक्षकको खातामा जम्मा हुन थालेपछि प्रध्यानाध्यापकलाई तलब खुवाउने बोझ हटेको छ । यस्तै, शिक्षकलाई सजिलो भएको छ । मासिकरुपमा तलब आउदा दैनिकीमा सहज हुने शिक्षकहरुको भनाइ छ । नगरपालिकाको यो कदमले प्रधानाध्यापकलाई धेरै सहज हुने सरस्वती माध्यमिक विद्यालय अर्खौलेका प्रधानाध्यापक नविन चाम्लिङले बताउनुभयो ।

नगरपालिकाबाट शिक्षक तथा कर्मचारीको तलब तथा भत्ता निकासा गर्न, भरपाई तयार गरि बैंकमा पठाउन, संचयकोष, बिमा, सामाजिक सुरक्षा कर कट्टी गर्न र सो बापतको रकम बैंकमा जम्मा गर्नुपर्ने झण्जट हटेको प्रधानाध्यापक राईको भनाइ छ । यस्तै, तलब सम्बन्धित शिक्षकको खातामा जादा विद्यालयको लेखा परिक्षणमा पनि कम खर्च हुने उहाँले बताउनुभयो । यस अघि सबै विद्यालयको खातामा आउने र शिक्षकलाई पुनः विद्यालयले प्रदान गर्नेहुँदा विद्यालयको कारोबार धेरै हुन्थ्यो । जसकारण लेखा परिक्षणमा विद्यालयको धेरै रकम खर्च हुने गरेको प्रधनाध्यापक राईको भनाइ छ ।

हलेसी तुवाचुङले जस्तै जिल्लाको ऐसेलुखर्क गाउँपालिकाले शिक्षकको सम्बन्धित खातामा तलब प्रदान गर्ने व्यवस्था गरिसकेको छ । यस्तै, रावा बेसी गाउँपालिकाले पनि यहि महिनाबाट कार्यक्रम सुरुवात गरेको जनाएको छ ।