
खोटाङ, असोज २६ । खोटाङको रावा बेसी गाउँपालिकाको केन्द्र हरमटारमा चिकित्सकसहितको चौबीसै घण्टा स्वास्थ्य सेवा सुरु भएको छ । गाउँपालिकाले स्थापना गरेको ५ शैयाको अस्तालमा पुनः चिकित्ससहितको चौबीसै घण्टा स्वास्थ्य सेवा सुरु भएको हो ।
कोरोना महामारी रोकथाम तथा न्यूनीकरणकालागि कर्मचारी आवास भवनमा अस्थायी कोभिड–१९ अस्पतालका रुपमा २०७७ सालमा स्थापना गरिएको थियो । कोरोना सङ्क्रमण सामान्य भएसँगै अन्य कोभिड अस्पताल बन्द भए पनि रावा बेसी गाउँपालिकाले अस्पतालमा रुपान्तरण गरेको थियो । कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका थिए । तर, चिकित्सक र ल्याब टेक्नेसियनको अभावहुँदा केही समययता स्थानीय सेवाबाट बञ्चित थिए ।
गाउँपालिकाले पुनः चिकित्सक र ल्याब टेक्नेसियनको व्यवस्था गरेर चौबीसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । पालिकाले सञ्चालन गरिरहेको ५ शैयाको अस्पतालमा हाल १ जना चिकित्सकसहित ७ जना कर्मचारी छन् । अस्पतालमा चिकित्सक १ जना, हेल्थ असिस्टेण्ड १ जना, नर्स १ जना, अहेब २ जना र १ जना कार्यालय सहयोगी गरी ७ जना कार्यरत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कौशल अधिकारीले बताउनुभयो । चौबीसै घण्टा स्वास्थ्य सेवा उपलब्ध भइरहेको अस्पतालमा थप जनशक्तिको आवश्यक परेमा व्यवस्थापन गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राईको भनाइ छ ।
अस्पतालमा आपतकालीन, ओपिडी, भिडियो एक्स–रे, इसिजी, ५ बेडको इन्डोर, अक्सिजन, ल्याब लगायतका सेवा उपलब्ध छ । गर्भवती महिलाको लागि भिडियो एक्स–रे तथा रगत परिक्षण निःशूल्क भइरहेको डाक्टर सङ्गम न्यौपानेले बताउनुभयो । रगत, दिसापिसाब परिक्षण साथै पेटको भिडियो एक्स–रे पनि अस्पतालबाट भइरहेको उहाँको भनाइ छ ।
गाउँपालिकाको लगानीमा सञ्चालन भएको उक्त अस्पतालमा चिकित्सक र ल्याबसहितको स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीको भिड लाग्न थालेको छ । ‘अस्पतालमा अहिले सेवाग्राहीहरुको भिड लागिरहेको छ । हामी राती दिउँसो केही नभनी स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ ।’ डा. न्यौपानेले भन्नुभयो, ‘बैंक पनि यहि छ, अहिले सामाजिक सुरक्षा भत्ता निकाल्न आएका बृद्धबृद्धाहरु स्वास्थ्य परिक्षण साथै उपचारका लागि अस्पताल आउनुहुन्छ । त्यसैले पनि अहिले अस्पतालमा भिड छ ।’
हाल दैनिक ३० जनाको हाराहारीमा बिरामीहरु अस्पतालमा आउने गरेका छन् । यो महिना १० जना बेड भर्ना भएर बिरामीहरुले उपचार गराएको डा. न्यौपानेले बताउनुभयो । गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा उपलब्ध हुने प्राय सबै औषधिहरु उपलब्ध रहेको उहाँको भनाइ छ । हरमटारमा सञ्चालित अस्पतालबाट पालिकाका सबै वडा तथा छिमेकी गाउँपालिका ऐसेलुखर्कका केही वडाका बासिन्दाले स्वास्थ्य सेवा लिइरहेका छन् । अस्पतालको फार्मेसीबाट अधिकतम औषधि निःशुल्क उपलब्ध गराउने गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिका स्तरीय १५ शैयाको अस्पताल वडा नम्बर २ खार्पामा निर्माण सुरु गरिएको छ । तर सुरुवात भए पनि लामो समय भवन निर्माणको रोकिएको छ ।
