
खोटाङ, असोज २८ । खोटाङ आवतजावत गर्ने सावारी साधनहरुले चाडपर्वको मौका पारेर दोब्बरसम्म भाडा लिने गरेको पाइएको छ । बिशेषगरी सुमोहरुले यात्रुबाट दोब्बरसम्म भाडा लिने गरेको पाइएको हो ।
आउँदै गरेको दशैँ, तिहार तथा छट लगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले खोटाङमा शुरु गरेको विशेष सवारी जाँच अभियानको दोश्रो दिनमै बढी भाडा लिने चारवटा यात्रुबाहक सुमो (जीप) कारबाहीमा परेका छन् । सुमो चालकले यात्रुबाट निर्धारण गरिएको भाडादरभन्दा झण्डै दोब्बर बढी भाडा लिने गरेको पाइएपछि कारबाही शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले जानकारी दिनुभयो ।
सहायक निरीक्षक पौडेलका अनुसार दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार १० कायम गरेको भएपनि सुमो चालक तथा सञ्चालकले विभिन्न बहानामा यात्रुबाट रु २ हजार २०० देखि रु ३ हजार ५०० सम्म भाडा लिएको पाइएको छ । सवारी जाँच गर्न सुरु गरेको २ दिनमै ४ वटा सुमोले बदमासी गरेको भेटिएपछि उनिहरुलाई ३ हजारसम्म जरिवाना गराएर यात्रुबाट बढी लिएको रकम फिर्ता गराइएको उहाँको भनाइ छ ।
ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको यात्रुबाहक सुमो कारबाहीमा परेको हो । ना १ ज ५६५९ नम्बरको सुमोले सबैभन्दा बढी रु एक हजार ४९० अर्थात रु तीन हजार ५०० सम्म रकम लिएको पाइएको ट्राफिक प्रहरीको भनाइ छ ।
सुमो चालकहरुले टिकट दिन मान्दैनन्, तर मनपरी भाडा लिन्छन् । प्रत्येक यात्रुसँग फरक फरक भाडा चालकहरुले लिने गरेको यात्रुहरुको भनाइ छ । “हामीले तोकिएभन्दा बढी रकम तिनुपर्छ भने टिकट दिनुस् भन्यौँ । उल्टै बाटोमा प्रहरीले सोधेको खण्डमा रिजर्भमा आएको भन्न लगाउँछन् । वर्ष दिनमा आउने चाड मान्न जसरी पनि आफ्नो घर जानुपर्ने अवस्था छ”, नाम नभन्ने सर्तमा एक यात्रुले भने, “चाडपर्वको अवसर पारेर वर्ष दिनपछि बल्ल आफ्नो घर जान पाइन्छ । छुट्टी लामो हुँदैन । भाडाको विषयमा बाग्रेनिङ गर्न थाल्यो भने अर्को मान्छे चढाएर पठाउँछ । बसौँ भने होटलमा एक रातको रु दुई÷तीन हजारभन्दा बढी उठ्छ । होटलमा तिर्नुभन्दा एक दिनभए पनि अगाडि नै घर पुगिन्छ भन्ने सोचेर बढी नै भएपनि भाडा तिरेर आएका थियौँ । दिक्तेल आइपुगेपछि तोकिएभन्दा बढी लिएको रकम ट्राफिक प्रहरीले फिर्ता गराइदिएको छ ।”
दश स्थानीय तह रहेको जिल्लामा लामो तथा छोटो दूरीमा सञ्चालन हुने करिब १५० वटा सुमो रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारभन्दा बाहिर सञ्चालन हुने सुमोले सबैभन्दा बढी मनपरी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गर्दै आएका छन् । काठमाण्डौं तथा तराईका जिल्लाहरुबाट खोटाङका ग्रामिण पालिकाहरुमा आवतजावत गर्ने सुमो चालकको अझै बढी मनपरी हुने गरेको छ । रु २ हजार ५०० भाडा भएको ठाउँमा ४ हजारसम्म भाडा तिर्न बाध्य भएको यात्रुहरुको गुनासो छ । तोकिए भन्दा धेरै भाडा दिन्न भन्दा, तँ नगए अर्को जान्छ भन्दै यात्रुहरुलाई अभद्र ब्यवहारसमेत सुमो चालकले गर्ने गरेका छन् ।
चाडपर्वको बहानामा सवारी चालकले यात्रुबाट बढी भाडा असुल्ने, सिट क्षेमताभन्दा बढी यात्रु बोक्ने तथा अभद्र व्यवहार गर्ने भएकाले नियन्त्रण गर्न जिल्लाका विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभएको छ । चालकहरुले नियम विपरित काम गरेमा जिल्ला प्रहरी कार्यालय खोटाङको १०० नम्बरको हट लाइन सेवामा चौबीसैघण्टा फोन गर्न सकिने उहाँको भनाइ छ ।
जिल्लामा बस तथा सुमो सञ्चालन गर्ने आधा दर्जनबढी यातायात प्रा.लि. छन् । तर हालसम्म खोटाङ यातायात प्रा.लि.ले मात्र भाडादर सार्वजनिक गरेको छ । खोटाङ यातायात प्रा.लि.ले सार्वजनिक गरेको भाडादर अनुसार बसमा दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु १ हजार ६१० निर्धारण गरिएको छ भने दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी भाडा रु १ हजार ६५० कायम गरिएको छ । सुमोका लागि दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु २ हजार १०, दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी भाडा रु २ हजार १२५ निर्धारण गरिएको जनाइएको छ ।
