Saturday, July 27News That Matters

खोटाङको एउटै पालिकाबाट दसैँमा एक करोड ७५ लाखको खसी बिक्री


खोटाङ, कात्तिक ३  । खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु १ करोड ७५ लाख बराबरको खसी निर्यात भएको छ । दसैँ तिहारको अवसरमा जिल्लाको एउटै स्थानीय तह बराहपोखरी गाउँपालिकाबाट रु १ करोड ७५ लाख बराबरको खसी निर्यात भएको गाउँपालिकाको पशु शाखाले जनाएको छ ।

गाउँपालिकाको ६ वटै वडामा पुगेर ठेकेदारहरुले कृषकका खसी खरिद गरेका हुन् । कृषकका घरबाट खरिद गरिएको सबै खसी राजधानी काठमाण्डौं लगिएको बराहपोखरी गाउँपालिकाका पशु शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिनुभयो ।

ठेकेदारको ५ समुह गाउँपालिकामा खसी खरिद गर्न प्रवेश गरेको थियो । पालिकाको सबै वडाबाट खरिद गरिएको खसी खोटाङ र उदयपुरको सिमाना धाप्लाङघाटस्थित सुनकोसी नदिसम्म हिँडाएर पु¥याएका थिए । धाप्लाङघाटमा पक्की पुल नहुँदा गाडी वारपार गर्न नसक्दा उनिहरुले त्यहाँसम्म खसी हिँडाएर लगेका हुन् । धाप्लाङघाटस्थित सुनकोसी नदि पार गराएपछि भने आठ वटा ट्रक र दुई वटा बोलेरोमा हालेर काठमाण्डौं लगिएको बञ्जराले बताउनुभयो ।

गाउँपालिकाको सबै ६ वटै वडाबाट दसैँको अवसरमा ८ सय ७५ वटा खसी निर्यात भएको हो । कतिपय कृषकले ८० केजी तौलसम्मका खसी बिक्री गरेका छन् । एउटा खसीको मुल्य सरदर रु २० हजार मान्दा एक करोड ७५ लाखभन्दा बढी रकम बराहपोखरी गाउँपालिकामा भित्रिएको छ । गाउँपालिकाका सबै ठाउँमा खसी बाख्रा पाल्ने गरिएको छ । एकै परिवारले ५ लाखसम्मको खसी बिक्री गरेका छन् । कतिपय किसानले आफै उदयपुरको गाईघाटमा लगेर पनि खसी बिक्री गरिरहेका छन् । तर धेरै जसो खसी कृषकका घरबाटै बिक्री भएको छ ।

बराहपोखरी गाउँपालिकाबाट हरेक वर्ष करोडौं रकमको अम्लिसो कुचो पनि निर्यात हुने गरेको छ । लामो समयदेखि धाप्लाङघाटस्थित सुनकोसी नदिमा पक्की पुल अलपत्र छ । उक्त पुल नबन्दा पालिकाबाट जिल्ला बाहिर अर्थात तराईसम्म कृषिउपज निर्यात गर्न समस्या हुने गरेको किसानहरुको भनाइ छ ।