Wednesday, December 6News That Matters

खोटाङमा ६८ वर्षीया वृद्धा ४ दिनदेखि बेपत्ता


खोटाङ, कात्तिक १० । खोटाङमा ६८ वर्षीया वृद्धा ४ दिनदेखि बेपत्ता भएकी छिन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरी घर भएकी जैसीमाया ढुंगाना ४ दिनदेखि बेपत्ता भएकी हुन् ।

विजया दशमीको दिन आफन्तकोमा टिका लगाएर घर फर्किनेक्रममा वृद्धा ढुंगाना हराएको परिवारले जनाएका छन् । श्रीमानसँगै घर फर्किएकी वृद्धा घर नजिकै बाटोमा हराएको उनिहरुको भनाइ छ । बाटोमा श्रीमान भन्दा केही पछि रहेकी वृद्धा ढुंगाना घर नआएकाले खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएका छन् । वृद्धा हराएको खबर पाउनसाथ खोजतलास सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

हराएको केही दिनसम्म नभेटिएपछि खोजतलासको लागि बुइपा प्रहरी चौकीमा जिल्लाबाट थप ४ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) बेनु कुमार कार्कीले जानकारी दिनुभयो । वृद्धाको खोजतालसका लागि कुकुर (प्रहरी डग) ल्याउन प्रदेश प्रहरी कार्यालयमा पत्रसमेत पठाइएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।