Friday, April 17News That Matters

खोटाङमा ५ दिनदेखि बेपत्ता वृद्धा खोज्न कुकुरसहित प्रहरी घटना स्थलमा

पाँच दिनदेखि हराएकी वृद्धा खोज्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा, तस्विर : किसन भुजेल

खोटाङ, कात्तिक ११ । पाँच दिनदेखि वेपत्ता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी जैसीमाया ढुंगाना खोज्न प्रहरीले कुकुर परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट कुकुर (पुलिस डग) ल्याएर जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्कासहितको प्रहरी टोली घटनास्थल पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार पनि घटनास्थल निरिक्षणका लागि पुग्नु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) बेनु कुमार कार्कीले जानकारी दिनुभयो ।

विजया दशमीको दिन आफन्तकोमा टिका लगाएर घर फर्किनेक्रममा वृद्धा ढुंगना हराएको परिवारले जनाएका छन् । श्रीमानसँगै घर फर्किएकी वृद्धा घर नजिकै बाटोमा हराएको उनिहरुको भनाइ छ । बाटोमा श्रीमान भन्दा केही पछि रहेकी वृद्धा ढुंगाना घर नआएकाले खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए । वृद्धा हराएको खबर पाउनसाथ खोजतलास सुरु गरेको प्रहरीले ४ दिनसम्म फेला नपरेपछि कुकुर ल्याएर थप खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

वृद्धा हराएको स्थलमा यतिबेला कुकुर परिचालन गरेर प्रहरीले वृद्धाको खोजी गरिरहेको स्थानीय किसन भुजेलले बताउनुभयो ।