
खोटाङ, कात्तिक १२ । खोटाङको दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रकरणमा आठ जना पक्राउ परेका छन् । केही समय अघि ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले आइतबार थप ५ जनालाई पक्राउ गरेको हो ।
आइतबार पक्राउ पर्नेहरुमा सहकारी सञ्चालक समितिका उपाध्यक्ष अजुर्न चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) बेनु कार्कीले जानकारी दिनुभभयो । यस अघि प्रहरीले सञ्चालक समितिका अध्यक्ष अनिल जोशीका परिवारलाई पक्राउ गरेको थियो । आफूहरुले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठजना बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । बचतकर्ताले दिएको जाहेरीको आधारमा जिल्लाबाट खटिएर गएको प्रहरी टोलीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र उहाँकी श्रीमती रविना श्रेष्ठ (जोशी)लाई असोज–१३ गते तथा प्रबन्धक रुकु जोशीलाई असोज–१७ गते काठमाडौँबाट पक्राउ गरेको थियो ।
महिना दिनअघि काठमाडौँबाट पक्राउ परेका तीनैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ । पक्राउ परेका सुनिल श्री एयरलायन्सका क्याप्टेनसमेत हुनुहुन्छ । बचत अपचलनमा मुख्य दोषी ठानिएका क्याप्टेन सुनिल लगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने भन्दै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन । उनीहरुको परिवारले रु एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।
वि.सं. २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण वि.सं. २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तत्कालीन अध्यक्ष जोशीको निधनपछि वि.सं. २०७८ वैशाख–१६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प रहेको छ । सहकारीमा एकैजनाले रु ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन् ।
सहकारीका ऋणीहरुले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । सहकारीको जग्गा बाहेक साँवाब्याजसहित करिब रु दश करोड ऋण लगानी रहेको जनाइएको छ । बचतकर्तालाई साँवाब्याजसहित करिब रु सात करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतवेदनमा हिसाब देखिएको छ ।
सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि भन्दै कार्यालयमा बोलाएर षडेन्त्रपूर्वक सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको सञ्चालक समितिका एक पूर्वसदस्यले आरोप लगाउनुभएको छ । “ऋणीहरुविरुद्ध हामीले किटानी जाहेरी दिएका छौँ । उनीहरु नै हुन् दोषी । अहिले पक्राउ परेका कोही पनि दोषी छैनन् । सञ्चालक समितिका सचिव मनोज राई आफैले ऋणीहरुविरुद्ध गत माघ–६ गते किटानी जाहेरी दिनुभएको छ । उहाँलाई नै प्रहरीले पक्राउ गरेपछि कसरी अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ?”, नाम नभन्ने सर्तमा उहाँ (पूर्वसदस्य)ले भन्नुभयो, “प्रहरी ऋणीहरुको पक्षमा लागेको स्पष्ट देखियो । यसमा निष्पक्ष छानविन हुन जरुरी छ । बिना कारण कसैलाई दुःख दिन पाइँदैन । दोषीले उन्मुक्ति पाउनुहुँदैन ।”
सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ । “लालुपाते सहकारी संस्था लिमिटेडमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाइएको छ । अनुसन्धानका लागि सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखियो”, उहाँले भन्नुभयो, “नियन्त्रणमा लिइएका सञ्चालक समितिका पदाधिकारीलाई आज (आइतबार) नै जिल्ला अदालत खोटाङमा हाजिर गराउनुका साथै एक दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरिएको छ । भोलि सबैजनाको एकै पटक पुनः म्याद गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ । सम्भवतः यस सम्बन्धीको नतिजा चाँडै नै आउने अपेक्षा गरेका छौँ ।”
