
खोटाङ, कात्तिक १३ । बिदा सकिए पनि पठनपाठन नभएको पाइएपछि हलेसी तुवाचुङ नगरपालिकाले विद्यालयलाई स्पष्टीकरण सोधेको छ । दसैँ बिदा सकिएर कात्तिक १२ गतेबाट विद्यालय सञ्चालन हुनु पर्ने भएपनि कतीपय विद्यालयमा पठनपाठन नभएको पाइएको हो ।
विद्यालय सञ्चालन भएको पहिलो दिन १२ गते अर्थात आइतबार नगरपालिकाको टोली अनुगमनमा पुग्दा विद्यालयमा पठनपाठन नभएको पाइएको बताइएको छ । नगरपालिकाका मेयर विमला राई, सामाजिक विकास शाखा संयोजक रुद्रकुमार राई लगायतको टोली आइतबार विद्यालय अनुगमनमा पुगेको थियो । तर, विद्यालयमा पठनपाठन ठप्प भएको पाइएको हो । सबै शिक्षक र विद्यार्थी उपस्थित नभएकाले विद्यालय समयसम्म पठनपाठन नभएको विद्यालयले जनाएका छन् ।
आइतबार ३ वटा विद्यालयमा अनुगमन गर्दा विद्यालय नै बन्द रहेको भेटिएको सामाजिक विकास शाखा संयोजक राईले बताउनुभयो । वडा नम्बर १ बाहुनिडाँडास्थित मालिकादेवी माध्यमिक विद्यालय, दुधकोशी आधारभूत विद्यालय र वडा नम्बर ३ को च्यास्मिटार माध्यमिक विद्यालयमा अनुगमन गरिएको उहाँको भनाइ छ । तर, तीन वटै विद्यालय ४ बज्नु अगाडी नै बन्द भइसकेका थिए ।
समय अगावै बन्द भएका विद्यालयलाई नगरपालिकाको शिक्षा शाखाले सोमबार स्पष्टीकरण सोधेको शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । कतीपय शिक्षकहरु बिदा सकिदा पनि उपस्थित नभएकाले उपस्थित शिक्षकहरुको डाटा पठाउन नगरपालिकाका सबै विद्यालयलाई पत्रचारसमेत गरिएको उहाँको भनाइ छ । विद्यालयलाई बिना जानकारी उपस्थित नभएका शिक्षकहरुको तलब कट्टा हुने उहाँको भनाइ छ ।
विद्यालय समयसम्म विद्यालयमा पठनपाठन नहुनु गम्भीर लापारबाही भएको मेयर विमला राईले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न नगरपालिका लागिरहदा समयसम्म विद्यालयमा पठनपाठन नहुनुले प्रश्न चिन्ह खडा गरेको उहाँको भनाइ छ । ‘विद्यालयमा आवश्यक के छ ? त्यो हामीले पुरा गर्ने प्रयत्न गरिरहेका छौँ, संरचना कमजोर भएका विद्यालयमा धमाधम नयाँ संरचना बनाउदै छौँ । आवश्यक अनुसार शिक्षक दरबन्दी मिलान गरेका छौँ, विद्यालयमा शुन्य शूल्क लागु गरेका छौँ ।’ मेयर राईले भन्नुभयो, ‘यसरी शिक्षालाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहदा शिक्षकहरुले विद्यालय समयमा उपस्थित भएर पठनपाठन नगराउनु कती सम्मको लापारबाही हो ?’
टाढाका सबै शिक्षक उपस्थित नभएकाले विद्यालय सञ्चालन भएको पहिलो दिन आइतबार दिउँसो १ बजे विद्यालय बन्द गरिएको बहुनीडाँडास्थित मालिकादेवी माध्यमिक विद्यालयका प्रथानाध्यापक बिष्णु राईले बताउनुभयो । ‘टाढाका शिक्षकहरु सबै आउनु भएन्, विद्यार्थीहरु पनि सबै आएका थिएनन् । त्यसैले उपस्थित शिक्षकहरुले पढाएर १ बजे विद्यालय बन्द गरिएको हो ।’ प्रधानाध्यापक राईले भन्नुभयो । सोमबारबाट ४ बजेसम्म नै विद्यालयमा पठनपाठन भएको उहाँको भनाइ छ । तर अझै पनि एक जना शिक्षक उपस्थित नभएको उहाँले बताउनुभयो ।
नगरपालिकाको अनुगमन नगरेका अन्य विद्यालयमा पनि विद्यालय समयसम्म पठनपाठन नभएको गुनासो अभिभावकहरुको छ । नगरपालिका भित्रका केही विद्यालयमा बुझ्दा सोही समस्या रहेको पाइएको छ । वडा नम्बर ११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालय पनि आइतबार दिउँसो १ बजे नै बन्द भएको प्रधानाध्यापक यबिन्द्र राईले बताउनुभयो । शिक्षक र विद्यार्थी सबै उपस्थित नभएकाले ४ बजेसम्म पठनपाठन नभएको उहाँको भनाइ छ । २ जना शिक्षक अझै उपस्थित नभएको तर उहाँहरुले बिदा लिएको प्रधानाध्यापक राईले बताउनुभयो ।
यता वडा नम्बर १० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा भने आइतबारबाटै नियमित पठनपाठन भएको प्रधानाध्यापक नविन चाम्लिङले बताउनुभयो । पहिलो दिन विद्यार्थी संख्या न्युन भएपनि सोमबारबाट प्राय सबै विद्यार्थी उपस्थित भएको उहाँको भनाइ छ । पारिवारिक समस्याका कारण २ जना शिक्षक बिदामा रहेको उहाँले बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिकाको मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहका सामुदायिक विद्यायको हालत पनि यस्तै रहेको छ । दसैँ बिदा सकिएर विद्यालय सञ्चालन भएको दोस्रो दिनसम्म पनि नियमित पठनपाठन नभएको गुनासो ब्यापक छ । कतीपय पालिकाले तिहारसम्म नै विद्यालयमा बिदा दिएका छन् । दसैँ, तिहार पुरै बिदा नभएका पालिकाका विद्यालयमा समयसम्म पठनपाठन भएको पाइदैन् । लामो समयसम्म विद्यालय बिदा भएर पुनः सञ्चालनहुँदा सुरुवाती ४/५ दिन सामुदायिक विद्यालयमा पठनपाठन भएको देखिदैन् । प्राय शिक्षकहरु समयमा उपस्थित नहुँदा यो समस्या भएको बताइन्छ ।
सबै विद्यालयलाई नगरपालिकाको पत्र

